Saturday, December 29, 2012

सबैभन्दा कम भ्रष्टाचार


न्यु जिल्यान्ड, विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देश। म यता आउन लाग्दा मेरा मित्रले सुनाउँदै थे। ओहो, धेरै राम्रो देश रैछ जस्तो छ यार । यस्तै ठाउँमा जानुपर्छ । यो भ्रस्टाचार को देश (नेपाललाई भन्न खोज्या) काम छैन। मलाई नि गजब लाग्यो। कस्तो होला त्यो देश?
.......................................

एक दिन कोठामा बस्दै थिए, अगाडी को ढोका ढ्याक ढ्याक गर्छ। को रैछ भनी हेर्न गा'को त क्रिस्चियन धर्म प्रचार गर्न हिडेका बुढा -बुढी रैछन्। लौ यता उनीहरुकै देश मा पनि के प्रचार गर्न हिडिरा होला ? मलाई कहाँ बाट आ'को, के धर्म हो सोध्दै थिए। अनि पढ्न दिए उनीहरुका कुरा। यता धेरै भ्रष्टाचार छ बाबु, प्रभु ले सब ठिक गर्छन् भन्दै थिए। आँई ....... के हो यो? भ्रस्टाचार??? "ह्या न्यु जिल्यान्डमा कम छ भन्ने पो सुनेथे त।" मैले प्रश्न गरें। "होइन बा, यता धेरै भ्रष्टाचार हुन्छ" रे लौ। के अचम्म!!!
.....................................

विकिपेडिया का अनुसार , "corruption is spiritual or moral impurity or deviation from an ideal." खतरा नै रैछ परिभाषा पनि । त्यसैले परिभाषा भन्दा पनि बरु भ्रस्टाचार को तरिका तिर जाउँ। विकिपेडियाको अनुसार नै भ्रस्टाचारका तरिकाहरुमा घुस लिने-दिने, सार्वजनिक सम्पत्तिको  निजी उपयोग, ठगी, निजी उपयोगको लागि सार्वजनिक अधिकारको दुरुपयोग गर्नु, निर्णयाधिकार को गलत उपयोग, नातावाद, कृपावाद, आदि, इत्यादि  छन्। भ्रस्टाचार विरुद्ध काम गर्ने Transparency International को web site मा पनि परिभाषा खोजेको, मैले त भेटिन। जे होस्, यो संस्था नै हो देश देश को भ्रस्टाचार को list निकाल्ने। कुन देश मा भ्रस्टाचार धेरै र थोरै भनेर वर्षै पिच्छे list छाप्ने। 2012 वर्षको लागि न्यु जिल्यान्ड एक नम्बर मा छ अनि नेपाल एक सय चवन्न मा। अफगानिस्तान, उत्तर कोरिया र सोमालिया रहेछ लास्टमा, एक चौहत्तर नम्बरमा।

नेपाल आफ्नै देश। आफ्नो देशमा कति भ्रस्टाचार भैरहेछ, कहाँ-कता भैरहेछ हामीलाई अनुभव भैहाल्छ। अनि फेरी अन्तर राष्ट्रिय संस्थाले लिस्ट निकाल्छ, ल है तिम्रो देशमा यति विधि भ्रस्टाचार हुन्छ, तिमि लिस्ट को लास्ट तिर छौ भन्छ । अनि हामीलाई लाग्छ, हो यार हाम्रो देश त गए गुज्रेकै छ। खत्तम छ। विदेश नै ठिक छ। विदेश भन्नाले गोरो मान्छेहरु बस्ने देश। गोरो मान्छेको सबै कुरा गोरो। सफा। त्यहाँ मात्र राम्रो आचरण। no भ्रस्ट आचारण । हामी यो पनि सोच्दैनौ कसरी हाम्रो देश लाई त्यो Transparency International भन्ने संस्थाले कैले तेरो यो नम्बर, कैले त्यो नम्बर भनेर लिस्ट गर्छ। उसले गर्ने भनेको Corruption Perception Index को आधारमा हो, जुन सम्बन्धित देशको तथाकथित विज्ञहरु तथा व्यापारीहरुको राय सर्वेक्षण (opinion survey) अनुसार निर्धारण गरिन्छ। यो भ्रस्टाचार नाप्ने पद्दति आफैमा विवादास्पद छ। किन यसले विकास उन्मुख राष्ट्र र कम्युनिस्ट राष्ट्रलाई जैले नि लिस्टको तल तिर पार्छ त ? धनी देशमा भ्रस्टाचार कम नै हुने हो त? कि धनी देशका विज्ञहरु सरकार नजिक हुने हुन्, जसले आफैले गरेको भ्रस्टाचार नदेख्ने पो हुन् कि? आखिर opinion न हो।

नेपालमा भ्रस्टाचार नभएको होइन। एकदम छ। तर नेपालको तुलना न्यु जिल्यान्ड सँग कसरी गर्न सकिन्छ। सबभन्दा कम भ्रस्टाचार, एक नम्बरमा न्यु जिल्यान्ड संगै डेनमार्क र फिनल्याण्ड छन्। यी तीन देशमै नेपाल को तुलनामा कति थोरै मान्छे बस्छन्, तर नेपाल हेरि कति धेरै resources छ । मान्छे नै छैनन् भने कसले गर्ने भ्रस्टाचार? अनि सबैलाई पुगिसरी छ भने फेरी किन भ्रस्ट आचरण? यो हल्का सोच्ने तरिका भो। तर कुरो चै के भने भ्रस्टाचार को अनेक रुप हुन्छ। नेपालमा सरकारी कार्यालयमा घूस लिने-दिने व्यापक देखिएकोले सबैले भ्रस्टाचार देख्छन्। तर यता विदेश तिर चै अलि लुकिएको भ्रस्टाचार हुन्छ। ठूला-बडा भ्रस्टाचार हुन्छन्। हुन त नेपालमा नि ठूला-बडा भ्रस्टाचार नहुने त होइन। तैपनि यताको ठूला-बडा भ्रस्टाचारले त पूरै विश्व नै प्रभावित हुन्छ। खास गरी अमेरिका (U.S.A.) को। अमेरिका को economic  recession ले सबै देशलाई असर गरेको त देखिएकै हो। अनि अमेरिका को त्यो economic recession को पछाडी व्यापारिक घरानाहरुको भ्रस्टाचार थियो भनेर पछि खुलासा भएकै कुरा हो। तिनै व्यापारी हरु हुन् अमेरिकी राजनीतिक पार्टीहरुलाई चन्दा दिने। अनि आफ्नो अनुकूल सरकारी नीति ल्याउन त्यहाँ भ्रस्टाचार भएन होला कसरी नभन्ने ।

यस्तै खालको भ्रस्टाचार को कुरा गर्छन् यता न्यु जिल्यान्ड तिर पनि। अचेल निजीकरण को कुरो छ यता। त्यसैले निजीकरणको नाममा सरकार निकट व्यापारी को भागमा सरकारी सम्पति कतै सुम्पिने त होइन? भ्रस्टाचार को अर्को तरिका। यसैको विरोध हुदैछ। यसका अलावा नातावाद, कृपावाद संसारको जुनसुकै कुनामा पनि हुन्छ। मान्छे न हुन् यार, आफ्नो त जसको नि राम्रो भै हाल्छ नि।

यस्तै हो साथी, देश अनुसारको भेष। देश अनुसारको भ्रस्टाचार। 

Thursday, December 20, 2012

मेरो प्रौढ-शिक्षा


म सान-सानै हुँदा खेरी प्रौढ शिक्षा भनेर खुब प्रचार हुन्थ्यो। बुढा -बूढी लाई अक्षर चिनाउन भनेर रेडियो, टि.भी. मा बिज्ञापन पनि बज्थ्यो। पढ्यो भने अरुले ठग्न सक्दैन यस्तै यस्तै। किताब पनि चित्रै चित्रले सजेको रमाइलो हुन्थ्यो। comics जस्तो। त्यसैले बुढा-बुढीका लागि छापिएका ती किताब म पनि रमाई रमाई पढ्थे। अचेल आफै बुढो भइयो। मास्टर्स सकेर पाँच वर्ष पछि विदेश आउने बहानामा फेरी पढ्ने मौका जुर्यो।

अस्ति online मा साथि सँग च्याट हान्दै थे। केटाहरु विदेशमा पढ्दै, भिषा थप्दै बस्ने गर्छन्, आदि, इत्यादि कुरा भयो। अनि केटाहरु पढाई जति जम्मै गरि सक्छन् रे, बुढो हुँदा पढ़ी बस्छन् रे भन्ने कुराकानी भो। यस्तालाई साथीहरु प्रौढ शिक्षा गर्ने पो भन्दा रैछन्। साथीले सुनाउदै थे।

हुन पनि विदेश बस्नै परो। भिषा थप्नै परो। अनि अनेक अनेक विषय पढ़ी सक्छन्। साइन्स पढेका कमर्स गर्छन्। कमर्स गरेका कुक पढ्छन् । यस्तै रै'छ अचेल को प्रौढ शिक्षा।

यस्तै प्रकारले म पनि आईपुगे प्रौढ शिक्षा गर्न विदेश तिर। पढिसकेको एकाउन्ट फेरी पढ्न। एकाउन्टमा खासै दक्खल नभए नि कमर्समा मास्टर्स गर्दा पढ़िसकेकै विषय हो। विदेशमा फेरी त्यै विषय दोहोर्याउने मात्र त हो। तैपनि विदेशी पढाई, अलि धमाका त होला। केहि ज्ञान गुन बढ्ला। एकातिर यस्तो पोजिटिभ कुरा थ्यो। अर्का तिर, यो प्रौढ शिक्षा गर्दा कतै म एक्लै त प्रौढ हुने हो कि साना बालखहरुको माझमा, टेन्सन थियो। तैपनि अब आइहालियो, पढ्नै पर्यो। क्लासमा पसेको त म आफै पो बालक रैछु जस्तो भो। बा-आमा जस्ता नि थिए यार  कोहि त । ओहो, हाई -सन्चो भो। विदेशमा खासै मतलब नहुने रैछ। को बच्चा, को बुढा। सब बराबर। पढाउने गुरुलाई त "Hi John" रे, आफ्नै साथीलाई झैँ। अझ, मलाई नयाँ देखेर गुरु आफैं "Hi, I am John" भन्दै हात मिलाउन पो आउछन् यार। रमाइलो रैछ।

पढाई चै ठिकै हो। त्यस्तो बबालै भएन। तर गुरु एकदम सहयोगी। पढाउने तरिका चै कम्प्युटर खोलेर सेतो बोर्डमा Presentation दे'को दै। दिनमै एउटा chapter सक्ने। अब अचेल नेपालमै पनि कम्प्युटर हेर्ने, अनि के जाति laptop लिने, Presentation दिने चलन आयो कि क्या हो, तर आफु त अलि बुढा-खाडा परियो, यति विधि देख्नलाई विदेशै आउनु प'रो। Anyway, देश अनुसारको भेष त गर्ने परिगो। पढ़ियो विदेशी शिक्षा। तर आफुले त पैले नेपालमै राम्रै सँग पढेको थे क्यारे , यस्सो revision गरियो भन्नु पर्यो । गुरुले नि सोध्धै थ्यो, "Have  u  done accounting before?" रे , अलिअलि भनी गफ लाइदिए। जाँचमा त एउटो विषयमा क्लास टप नै पो गरिएछ ए गाठें! क्याम्पस बाट फोन पो गर्छ, प्राइज लिन आइजो रे। "Thank you" भन्दै म पनि पुगे प्राइज दिने-लिने कार्यक्रममा। विदेशी प्राइज कार्यक्रम रमाइलो गर्दा रैछन्, जोक हान्ने, अनि हास्ने। आधा बुझियो, आधा तेस्सै हाँसियो। अनि प्राइज लिने टाइम पनि आयो, लिइयो। के दिएछन् भनि यस्सो हेरेको त, "This is to certify that you have topped the subject" भनेर एउटा चिठी मात्र पो रैछ यार .........। खिस्स!

यस्तै छ मेरो विदेशी प्रौढ शिक्षा। केहि नयाँ जान्ने, सिक्ने अवसर चै भैराछ। जीवनमा पढाई भन्ने कुरा कैले सकिन्न। अनि त्यो कक्षा-कोठामा मात्र सीमित पनि हुन्न र, उमेरले पनि छेक्दैन। सिक्न खोज्नु पर्छ।

Wednesday, December 19, 2012

न्युजिल्यान्डमा निजीकरणको विरोध




नेलसन को गल्ली तिर हिड्दै गर्दा यस्तो बोर्ड देखि रहन्छु। "STOP KEY SELLING OUR ASSETS" भन्छ। अनि signature पनि गर् भन्छ। कसको सम्पत्ति कसले बेच्न लागेछ? के रैछ भनि बुझ्दा त सरकारको निजीकरण कार्यक्रमको विरोध पो रैछ।

ए, भनेपछि निजीकरण को विरोध गर्ने भनेको नेपालमा झैँ कम्युनिस्ट मात्र होइन रै'छन्, यता तिर नि हुँदा रैछन् ए गाँठे!

STOP, KEY SELLING OUR ASSETS भनेर न्युजिल्यान्डका प्रधानमन्त्री John Key लाई भनेका रैछन्। सरकारी सम्पत्ति निजीकरण गर्न लाग्यो भनेर अरु पार्टीहरुले बिरोध गरिराका  रै'छन्। कमर्सका विद्यार्थी अनि अमेरिकामा पढ़ी Merrill Lynch जस्तो Investment management कम्पनीमा काम गरेका Key लागेछन् निजीकरण तिर। राम्रै चलेको बिद्युत कम्पनी र सरकारी हवाई-सेवा को बिक्री गर्न। मलाई चै नेपालमा गएगुज्रेको अवस्थामा रहेको नेपाल बिद्युत प्राधिकरण र सरकारी हवाई-सेवा, NAC को पो सम्झना भो। नेपालमा यी कम्पनीको निजीकरणको कुरा अनि त्यो सँगै आउने विरोधको कुरा के कता पुग्यो कुन्नि ?

Friday, November 23, 2012

म विदेश बुझ्दैछु


राम गयो, श्याम गयो, हरि गयो।
हिरो, हिरोइन, गायक, खेलाडी, कथा पुरानो भयो।
कसैले डलर फलायो, कसैले मोटर दौडायो।
कसैले उतै घरजम बसायो।
अनि धेरैले फेसबुकमा फोटो सजायो।
कैले काहिँ देश आइकन फुर्ति देखायो।
कसैको चै पत्तो छैन, खै कता हरायो?
जे होस् मोज मस्ती मै आफुलाई भुलायो।

यस्तै म सोच्दै छु।
नेपालमा बसी म के गर्दैछु?
कैले बकम्फुसे पढाई गर्दैछु।
फेरी दिन रात अफिस, काम भन्दैछु।
ताई-न-तुई को tension लिदैछु।
अनि थोरै रुपियाँ गन्दै छु।
मान्छेको भिड मा रुमलिदै छु।
लखर लखर हिड्दै छु।
तेस्सै time pass गर्दैछु।

सबैले यस्तै सोच्यो, सबैले यस्तै देख्यो।
माटो देखेन, मैलो मात्र देख्यो।
खुशी देखेन, पसिना मात्र देख्यो।
load-shedding मा सधैँ बत्ती निभेको मात्र देख्यो, उज्यालो कतै देखेन।
यो आखाँले केहि देख्दै देखेन। अहँ, खोज्दै खोजेन। 
मात्र टाढा को तिर्थ देख्यो। अनि त्यहाँ धन को देवी देख्यो।
समयले यसरी विदेश खेद्यो।

कसैलाई विदेश रहर हो।
कसैको सपना अनि कसैको बहाना।
यस्तै बहाना म खोज्दै छु।
विदेशिने रहर मेट्दैछ।
म विदेश बुझ्दैछु।

Monday, October 8, 2012

नयाँ सपना?



यो गीत पनि म विदेश आउने बेला तिरै रिलिज भएछ, 'कर्मा' ब्याण्ड को ।
मन पर्यो।

अनि मेरो पनि केहि शब्द फुर्यो।

सपना
उडि छुनु चन्द्रमा भन्थे कसैले।
धर्ती प्यारो आफूलाई खै के गरूँ मैले?

सपना ठुलो ठुलो देख्नु पर्छ भन्थे।
पढी-गुनि ठुलो मान्छे बन्नु लौ है भन्थे।
लौ त नि पढ़ौ भनि घुँडा पनि धसें। (.... जाँचमै मात्र भए पनि)
स्कूल अनि कलेज भनि कति टाइम बिताए।
ठुलै मान्छे हुने हो क्या, सपना नि बनाए ।
लास्टा सबै भन्छन् धेरै पढिस,ल अब पैसा कमाए!

ए लौ, त्यो सब त गुरुबाले कहाँ पढाए ?
जाँच कसरी पास गर्ने त्यै मात्र पो सिकाए।

सपनाको अर्को स्टेप पैसा तिर सर्यो।
पैसै ठुलो संसारमा लौ नशा चड्यो ।
शुरु भयो त्यसपछि पैसा को रेस।
गाउँ छोडी शहर अनि देश-विदेश।
कोई कमाउने डलर अनि कसैले युरो।
दरै रै'छ केटा हो, यो नेपाली पुर्पुरो।

गाउँ, शहर, देश, विदेश आए कति टाढा।
सपनाको खोजीमा घुमे संसार सारा।
ठुलो मान्छे, धनी मान्छे कुन सपना मेरो?
आकाशको चन्द्रमा छुन जहाँ गए नि गाह्रो!
ठुला ठुला सपना देख्ने त्यो रात अध्यारो।
मनको कुनै कुनामा मलाई मेरै धर्ति प्यारो।

उडि छुनु चन्द्रमा भन्थे कसैले।
धर्ती प्यारो आफूलाई खै के गरूँ मैले?

Wednesday, October 3, 2012

घुम-घाम


घाम लागेपछि घुम्ने चलन रैछ यतातिर। अनि मान्छेहरु पनि देखिन थालिने। जाडो मा बाटो-घाटो सुन्सान लाग्थ्यो। गर्मि लागेपछि अलि भिडभाड भो।

अनि, हाम्रो नि यस्सो न्युजिल्यान्ड, नेलसन वरिपरी घुम्ने काम भो।

हैन गाँठे नेपाल जस्तै पो छ त।  यस्तो त नेपाल मै कति देखियो।

यो त झन् घर तिर कै खहरे खोला जस्तो यार!
  
 हिमाल त घर बाटै देखिन्थ्यो।  के पो नौलो भो र?


तर, हिउँको यति नजिक पुगेको चै पहिलो पटक भो। के गर्नु नेपाली भएर विदेश आएपछि बल्ल हिउँ खेलियो। हुन त हिउँ नजिक पुग्न यता सजिलै हुने, नेपाल मा भए अलि कसरत गर्नु पर्ने भएर पनि होला। अब अल्छि नेपाली भए पछि यस्तै हो।




ए लौ, डाँडा  त यतातिर नि फाँडे छन्।

 

ए, यो त व्यवस्थित फडान पो हो कि क्या हो? आधा उजाड छ, आधा हरियाली।



अनि, यो चै व्यवस्थित खेति होला।



 अनि, पशुपालन पनि। कृषि प्रधान देश नै रैछ नि। तैपनि कसरी धनी भएछ कुन्नि? नेपाल चै गरिब?


 कति धेरै जग्गा हो घाँस चर्न लाई पनि ? हुन त न्यु-जिल्यान्डमा मान्छे भन्दा धेरै त भेंडा नै छन् रे, अरु त के कुरा गराई भो र?


लास्टमा, यो चै नौलो देखियो - समुन्द्र।


नेपाल मा नभाको यै हो। कि अरु पनि छ?

Wednesday, September 26, 2012

first impression


भन्थे, एक चोटी विदेश जानु पर्छ। संसार हेर्नुपर्छ। अझ, स्वर्ग के हो देखिन्छ रे पनि भन्या सुनेथे।

प्लेनको लामो यात्रा, अनि थकान। नेपाल बाट singapore , auckland हुदै nelson  आइपुग्दा ज्यान पुरा थकित थियो। निद्राले झ्याप। प्लेनमा सुत्न सक्या' थिन। न केही खाएको थियो। खाना मिलेन, समय मिलेन, न प्लेनको सिट मिल्यो, निद्रै आएन। एकै दिनमै आइपुगेको हो कि जस्तो भो। बिहान घर बाट हिंडेको, साँझ मा आइपुगे जस्तो भो।

जे होस्, यसरी आइपुगियो नेलसन, destination . चिसो सिरेटो ले स्वागत गर्यो । अनि लगभग अध्यारो। नेलसन को समय तेस्तै 4-5 बज्दो हो। तर जाडो मौसममा छिटै रात लाग्ने रहेछ। बस्ने ठाउँको बन्दोबस्त यता नेपाली साथीले नै मिलाइसकेका थिए। कोठामा आइ पुग्दा त अध्यारै भो। अँध्यारो मा डाँडा -काँडा देखियो। डाँडा-डाँडामा बत्ति बलेको । चिसो-चिसो हावा। मलाई त कता कता किर्तिपुर आइपुगे झैं पो भो । चितवन बाट किर्तिपुर पहिलो पटक पुग्दा पनि यस्तै त भाको थियो। जाडो मौसममा पुगेको त्यो बेला लास्ट.. चिसो भाको थियो! जाडोले मेरो घाँटी समातेको'थ्यो। पछि बस्दै गर्दा काठमाडौँ चिसो लाग्न छो'डो।

जेहोस् , रातको अध्यारो मा मलाई न्युजिल्यान्ड को नेलसन सहर नेपालकै किर्तिपुर भो। घर छोडी पढ्न हिंडेको सम्झना भो।

भोलिपल्ट कलेज चाडैं पुग्नुपर्ने थ्यो। बिहानको 9 बजे। त्यसैले खाइवरी सुत्यौं। ओहो, बिहान आखाँ खुल्दा त 9 त बिस्तारामै पो बजेछ। हतार-हतार उठेर हिड्यौं कलेज तिर। अब चै देखियो, नेलसन सहर, बिहान को उज्यालो मा। .......लौ, किन सुनसान ? बाटो-घाटो चै राम्रै रैछ। केहि गाडीहरु पनि गुडि'रा। सफा। तर काठमाडौँ को झ्याउँ-झ्याउँ, भिड-भाँड बाट आको। एक्कासि सुनसान पो भो। सहर रे। मान्छे नै छैनन् जस्तो । हिजो साथीले बताए अनुसार नै हिडेको झैँ लाग्छ, तर खै भेटिएन कलेज। मान्छे लाई सोधुँ भनेको कतै कोई देखिन्नन्। तै हिड्दै गर्दा कस्सो भेटिए 2-3 जना। अनि बल्ल बाटो पत्ता लगाएर पुगियो कलेज ।

लाग्यो, कस्तो ठाउँ मा आइएछ नि, मान्छे नै नहुने। सबै कुरा चट्ट मिलाएर राखेको, डाँडा माथिसम्म पनि पिच रोड। सफा-सुघ्घर। साना-साना चिटिक्क का घरहरु। तर मान्छे नै कम। सुनसान । जाडो मौसम मा यस्तै हुन्छ, मान्छे कम हुन्छ भन्छन्। हेरौं।

यस्तै भो first impression, न्यु जिल्यान्ड अनि नेलसन को। खै विदेश भन्नु स्वर्ग भो वा नेपालकै अनुभूति भो, भन्नै कठिन भो। तर पनि लागिरह्यो, सफा, धुलो भन्ने नभा'को, अनि अलि सानो-सानो घर भाको नेपालकै कुनै गाउँ झैँ भो।

Monday, September 24, 2012

भाषा

सोचेथें अंग्रेजीमा लेख्छु। अहँ, कुरा नै फुरेन। मजै आएन। के भा'येस्तो? यहि रैछ सायद आफ्नो भाषा भनेको। mother-tongue भन्छन् नि अंग्रेजीमा। जुन भाषा मा खेल्दै उफ्रिदै जीवन यती उकालो लाग्यो , त्यै भाषामै मजा आउने रैछ । आफ्नोपन हुने रैछ । मनको कुरा पोखिने रैछ । पछी सिकेको भाषा मा खै के हो के, बोल्न खोजेको कुरा नै अर्कै बोलिए जस्तो, अर्कै लेखिए जस्तो, कतै केहि बाँकी रहे जस्तो, धित नै नमेटिए जस्तो। के हो के?

सानै देखि सिकेकै हो अंग्रेजी। लेखेकै हो। बोले जस्तो गरेकै हो। आज येस्सो लेखुँ  भन्छु खै के भाको? अझ यो बिरानो ठाउँमा झन् अंग्रेजी बोल्नु नै छ। लेख्नु नै छ। अनुभूति साट्नु नै छ। के गर्ने? नेपाल छोडी यो बिदेशाँ आउँदा यो अंग्रेजीको महिमा गजबको हुन्छ। बोल्नै पर्ने बाध्यता हुन्छ ।  सुन्नै पर्ने हुन्छ ।

त्यसो त , विदेश आउन भनि नेपालबाट जब प्लेनमा चडियो, सिंगापुर एयरमा, त्यै बेला देखि सुरु भयो लौ अंग्रेजीको यात्रा। ओहो ....... कुन खाले अंग्रेजी बोले तिनले? ति बिमान परिचारिकाहरुले ? Singlish पो भन्दा रैछन त गाठे । पछि थाहा भो नि । सिंगापुर को english रे singlish । थाहा पाइयो अनि ठाउँ अनुसारको इंग्लिश। कतै येस्सो हाम्रा छिमेकी भारत का बन्धुहरु भेटिदाँ मात्र  अंग्रेजी बुजियो है। लाग्यो आहा, मैले अंग्रेजी बुझ्दो र'छु।

अब, अरु त के कुरो गरौँ र खै, anyhow, आइपुगियो  नयाँ ठाउँ। अंग्रेजको गाउँ। नेलसन, नु जीलंड भन्छन् यसको नाउँ। अनि भाषा चैं किविन्ग्लिश भन्दा होलान् । अरे यार, यता त झनै बुझ्नै गारो भो नि । कति छिटो बोलेको लौ .......। अघि बोलेको अर्थ लगाउन भ्याछैन, अरु दिन थालिसक्छ्न् तिनका अंग्रेजी ...... IELTS मा त राम्रै गरे जस्तो लागेथ्यो। अझ listening मा त झन् राम्रो गरे झैँ मान्थे। लु, होइन रैछ, मलाई IELTS गराउने UK भन्ने ठाउँ का अंग्रेजहरुले ठगे छन्। जात्रै भो नि । मैले बोलेको अंग्रेजी उसले नबुज्ने , उसले बोल्या मैले say again plz भन्नु पर्ने। अंग्रेजी त दुबैले बोलेको, तर एस्तो भो। यो अंग्रेजी भाषा को महिमा ....।

लुज्जा त, म येस्तो अंग्रेजी किन लेखि बसुँ हो ? म मेरै नेपाली लेख्छु, eh sorry , मेरो नेपाँग्रेजी भन्न खोजेको।  अब अंग्रेज को ठाउँ मा अलिकति अंग्रेजी त बोल्ने परो नि बीच-बीचमा। अनि, मेरो नेपाली भाषा पनि त समय अनुसार, ठाउँ अनुसार अलि फरक हुने नै भयो नि ।

ल ठिकै छ, अब अंग्रेजको गाउँमा बसेर नेपाँग्रेजी मा ब्लग लेखिन्छ। नेपाल देखि नेलसन सम्म। लु, स्टार्ट।