Sunday, April 14, 2013

नयाँ वर्ष २०७० - शुभकामना


म गुगलमा क्यालेन्डर खोज्दैछु, नेपाली। आफुलाई सम्झाउन खोज्दै छु, नेपाली समय। आज नयाँ वर्ष भन्छन्। फेसबुकमा शुभकामनाहरु देख्छु। यो विदेशी धर्तीमा म मेरो नेपाली समय खोज्छु।

............

नेपालीमा ब्लग लेख्नु नि महाभारत छ आफ्नो लागि। नेपाली टाइपिङ्ग सिकिएन। यो गूगल को transliterate ले हैरान पारिसक्यो। इन्टरनेट स्लो भाको हो कि के हो, लेख्न खोजेको शब्दै देखाउन्न। पागल बनाइसक्यो। आ ... उफ ...... बल्ल खुल्यो नेपाली पात्रो पनि। लौ १ गते रैछ आज बैशाख महिनाको। .........साला .... नेपाली भएर नेपाली मै ईन्टरनेट चलाउन खोज्नु पनि गाह्रै कुरा छ। नेपालीले बनाको भए पो हुन्थ्यो त .... यी अंग्रेजले बनाको कुरो चलाउनु छ अनि के गर्ने, उसले भने अनुसार नै गर्नु पर्यो। कि त गान्धी ले जस्तो स्वदेशी मात्र चलाउने भनी कम्पुटर नै फ्याक्दिनु परो अनि चर्खा घुमाउदै बस्नु परो, हैन भने यसैलाई सलाम गर्नुपरो।

यस्तै छ जिन्दगानी मित्र .... विदेशी बसाई अनि नेपाली रटाई। के गर्नु नेपालीमा नलेखी नहुने फेरी। सानै देखि लागेको बानी। हाम्रो भाषा, हाम्रो भेष .... प्राण भन्दा प्यारो छ ....... खै भेष त कैले लगाइयो जस्तो लाग्दैन क्यारे तर भाषा चै प्यारो नै हुँदो रैछ। बच्चा देखि नै जुन भाषामा हुर्कियो, बढ्यो, पढ्यो, सोच्यो, झगडा गर्यो, सपना देख्यो, यो नेपाली भाषा लाई कहाँ भुल्न सकिन्छ र .......... अचेल फेरी के भा'को कुन्नि, नेपालकै मात्र सपना देख्छु यार। काठमाडौँ को त्यो भिड, त्यो धुलो, माइक्रो बस, अनि त्यो .... "ए .... बल्खु, किर्तिपुर ......... ए .... बल्खु किर्तिपुर ......"

तर गजब को कुरो यो छ साथी, यो नेपाली भाषा थ्योरीटिकल्लि भन्ने हो कि पोलिटिकल्ली हो मेरो मातृभाषा चै परेन रे हौ .... हैन हो गाठे, अचम्म भएन त लौ ...... म त तामांग को छोरा पो त .... (लौ यो बजिया गूगल लाई तामांग पनि राम्ररी लेख्नु आएन हौ)........ लु ठिकै छ, त कुरो के पर्यो भने मैले थाहा पाए देखि नेपाली बोल्नु, लेख्नु सिकेको .... लु हेरुँ है ....... तर टेक्निकल्ली यो भाषा चै अरु कै मातृ भाषा पो परेछ हौ ..... लु खत्तम ... अब आफ्नो मातृ भाषा तामांग (फेरी बिगार्यो हौ यो गूगले मोरो ले) सिक्न चै मो कता पो जाने हो गाठे यो बुढेसकालमा ....

हौ, अजब छ यो संसार को लीला। आबो यो मोटो दिमाग ले यस्सो सोच्दै गरेको है। ह्या विदेश भन्ने ठाउँमा जन्मेका, हुर्केका नेपालीका बच्चाहरु अंग्रेजी सिक्दा हुन्। अझ अंग्रेजी लवज मै बोल्दा हुन् ..... "हौ .... हाउ यु डू म्यान ..." भन्दा हुन्। अनि तिनि ठुलो भए पछि बाबु तिम्रो मातृ भाषा त नेपाली हो है भन्दा त फेरी  .......... "शिट... म्यान ....." पो भन्लान् हौ कतै। झन् त्यसमाथि नेपाली पनि नभई तामांग (फेरी बिगार्यो .... यो गूगले लाई  त...) हो भन्ने सुनाउँदा त ........ "व्हाट त फ#...... म्यान ......" भन्ने पो डर लागो त हौ ......

त्यसैले यो भाषा, यो भेष, यो माया, यो देश ......... जुन वातावरणमा जन्म्यो, हुर्क्यो, खेल्यो, बढ्यो, पढ्यो, साथी बनायो, झगडा गर्यो, माया गर्यो ......., मान्छे त्यै ठाउँ को हुन्छ यार ...... देश भनेको एउटा सीमाना मात्र कहाँ हो र ... यो त नाता हो .... यो त सम्बन्ध हो ....... यो त माया हो .... विदेशमा अंग्रेजी बोल्दै हुर्केको कुनै बेलाको नेपालीका सन्तानलाई कसरी त्यो सम्बन्धको महत्व हुन्छ र? कसरी त्यो भाषामा ऊ भिज्न सक्छ र? जसरी मैले अब तामाङ् भाषा सिके पनि त्यसमा मलाई भाषा को त्यो रस नहुन सक्छ। मलाई त्यो फुर्सद नै कहाँ हुन्छ र फेरी सिकी बस्न ...... उफ .... म बिग्रेको तामाङ् ( ह्या चै ठिक लेखे कि "तामाङ्".. यो गूगलबाट होइन अन्तै बाट कपि-पेस्ट गरेको हो है )..... आफ्नो भाषा, आफ्नो संस्कृति बिर्सेको तामाङ्। तर गर्ने के अब? जीवन त व्यक्तिगत छ, सामुहिक हुन त अचेल हामीलाई अमेरिकाले बिर्साइदिसक्यो। त्यसैले जसरी म अब तामाङ् सिकेर बस्न सक्दिन, कुनै विदेसिएको नेपालीले नेपाली भाषा च्यापेर बस्न पनि त सक्दैन होला नि।

यस्तै यस्तै भाषा, संस्कृति जोगाउने राजनीतिक अभियान अचेल नेपालमा खुब चल्दैछ । ताम्सालिङ चाहिएको छ रे। हुन त यस्ता कुरा संविधान बन्ने अन्तिम समयमा मात्र धेरै सुनिन्छ। तैपनि मान्छेमा त्यो उग्रपन त छ कतै। सहि, गलत को कुरा नै छैन, कुरा मात्र हक, अधिकारको छ। यो उग्रपनले देशलाई कहाँ पुर्याउने हो खै ?

हो, हामी धेरै तामाङ्ले आफ्नो भाषा, भेष लाई बलि दियौ। अरु जात-जातिले पनि दिए। तर जुन समय गयो, गैसक्यो। अब पछाडी होइन कसरी अगाडि बढ्ने भन्ने कुरो हो। सबै भाषा-भाषी को अधिकार पनि चाहिएको छ देशमा, तर यी अनेक भाषा-भाषी बीच एउटा एकताको सुत्र पनि चाहिएको छ।

त्यो एकता यो नयाँ वर्ष २०७० मा अझ मजबुत होस् ..... शुभकामना .......

Saturday, March 2, 2013

साइको ATM


ATM भनेर मैले त्यो नेपाली फिलिम ATM लाई भन्न खोजेको होइन है, बरु पैसा निकाल्ने ATM चै भन्न खोज्या हो।

भयो के भने अस्ति आइतबार यता नेलसन शहर, न्यु-जिल्यान्ड को ANZ बैंक (बैंकको नाम पनि यस्तै छ, कोई ANZ, कोई BNZ, फेरी कोइ चै ASB, कोई TSB, अरु SSB....भैगो लौ ...पुग्यो) बाट पैसा निकाल्न ला'को। ATM ले पैसै दिन्न यार। बैंक ब्यालेन्स चै घटेर झन्नै सुन्ना पो भो। अनि त दिमाग फुस्कि हाल्यो नि। नेपालमा कैले नभाको यार यस्तो। झन् विदेशी टेक्नोलोजी भनेको त पैसा चै नदिने, ब्यालेन्स मात्र घट्ने टेक्नोलोजी पो परेछ। लौ फसाद! फेरी आइतबार, बैंक बन्द। फोन गरें, बैंक को फ्री फोन मा कसैले उठाउँछ कि भनेर। उठाउने कोइ छैन। टेन्सन भो। अनि के गर्ने? त्यो ब्यालेन्स नभाको कार्ड नै फेरी ट्राई हाने। लौ.... पैसा पो निस्क्यो त! अनि लास्टमा फोन पनि उठायो कसैले, अकल्याण्डबाट बोलेको रे। नेलसन मा मलाई प्रोब्लम भा'को, अकल्याण्डमा पो फोन उठ्यो। तैपनि, यस्तो उस्तो भो भनियो। ल एकै छिन हेर्छु भनेर त्यो मान्छे कता हरायो कता। म कानमा फोन राखिरा'छु, मान्छे बोल्दै बोल्दैन। कान दुखिसक्यो फोन होल्ड को बाजा सुनेर ..... ह्या झ्याउ लाग्दो, राखिदिए फोन।

भोलि पल्ट सोमबार बैंक गएर ATM को नाटक भनेको त खुरुक्क फारम दिन्छ भर्न। ए .... भनेपछि म पहिलो मान्छे होइन रैछु यस्तो प्रब्लम भा'को। फारम नै बनाएर राख्या रैछन् नि यिनले। भरें फारम। एक हप्ता जति लाग्छ रे। ATM को ब्यालेन्स चेक गर्नु पर्छ रे। ठिक छ भने राखिदिन्छ रे। एउटा क्यामेरा ATM मा खुरुक्क राख्द्या भए, देखिहाल्थ्यो पैसा निस्क्या थ्यो कि निस्क्या थेन भनेर। नौटंकी। के गर्ने, कुर्नै पर्यो।

शुक्रबार मिलाएछ। तर फेरी ब्यालेन्स नभाको खाता बाट पैसा निकालेको (बैंक ओभर ड्राफ्ट) भनेर पन्ध्र डलर चार्ज अनि ब्याज पनि पो काटेछ। ल खत्तम! रिसै उठ्यो। उसकै ATM को गल्ती छ, फेरी ताई त तुई को चार्ज काट्ने। धाउनै पर्यो बैंक फेरी। सोधे, के भा'को यो? बैंकमा पनि फेरी कैले को हुन्छ टेलर, कैले को हुन्छ। सबैलाई सुरु देखि को बेलिबिस्तार! चेक गर्यो। अनि लास्टमा बल्ल ए लौ गल्ती भएछ भनेर मिलायो। टेक्नोलोजीको गल्तीले तात्तो न छारो को टेन्सन। जे होस्, धन्न हिसाब किताब मिल्यो भन्नुपरो। के गर्ने, त्यो विदेशी ATM को त्यै बेला कुन चै स्क्रु फुस्किएछ कुन्नि? .....साइको ATM ले टेन्सन दियो।


Wednesday, January 23, 2013

न्यु जिल्याण्डमा बिरालो विरुद्ध अभियान


अचम्म अचम्म सुन्नु पर्छ कैले काहिँ। अझ यी विदेशीको तालै फरक।

न्यु जिल्याण्ड आफुलाई "100% pure" भनेर पर्यटन को प्रचार गर्छ। हेर्नुस् भिडियो http://goo.gl/d9ygD । उसको पर्यटनको नारा नै Clean ,Green Tourism को छ। शुद्ध संसारको अलग अनुभव।

यस्तै न्यु जिल्याण्डलाई शुद्ध राख्ने एउटा एकदमै अलग अभियान Gareth Morgan (न्यु जिल्याण्डका एक अर्थशास्त्री, व्यवसायी, philanthropist) ले भर्खरै शुरु गरेको सुन्नमा आयो। उनको अभियान चाहिँ परेछ, न्यु जिल्याण्डलाई बिरालो मुक्त देश बनाउने। किन त भन्दा बिरालोले न्यु जिल्याण्डका लोपोन्मुख चराहरु सिध्याउन थाल्यो रे, त्यसैले उनी चै बिरालो नै सिध्याउने अभियान मा लागेछन्। उनको यो "Cats to go" अभियान बारे थप यहाँ पढ्न सकिन्छ, http://garethsworld.com/catstogo/ । उनका अनुसार जन्मजात शिकारी  हुने बिरालो खानको लागि नभई रमाइलो को लागि मात्र पनि शिकार गर्छ, त्यसैले दुर्लभ चरा सखाप पार्न यो धेरै नै जिम्मेवार छ। त्यसैले उनको अपिल छ न्यु जिल्याण्ड बासी लाई, बिरालो पाल्न बन्द गरौ र न्यु जिल्याण्ड लाई बिरालो मुक्त देश बनाऊ।

गज्जब छ। बिचरा बिरालो चै अशुद्ध पो परेछ। शुद्ध देशमा बस्न नमिल्ने। :p 


Monday, January 21, 2013

विदेशिन बाध्य पार्ने को?


अचेल विदेश जानु अनि घर (नेपाल) पैसा पठाउनु अधिकांश नेपालीको काम भएको छ। हामी नेपाली किन विदेश आइपुग्यौं त ? हाम्रो अगाडी तेर्सिएका रेडिमेड उत्तरहरु हुन्; नेपालमा काम छैन, नेपालमा पैसा छैन, नेपालमा राम्रो वातावरण नै छैन। सधैं लोडसेडिंग, सधैं हड्ताल, सधैं बन्द। के गर्ने नेपाल बसेर?

म पनि आइपुगे यार, यस्तै बहाना लिएर। कहिले सोच्या थिइन विदेश आउछु भनेर। तैपनि म आइपुगे। विदेश। पैसा कमाउन, भविष्य बनाउन। अहिले फुर्सदमा सोच्दैछु, मलाई अनि धेरै नेपालीलाई विदेशिन बाध्य पार्ने के हो त्यो कारण? देशको अवस्था नै मूल कारण हो त? अनि देशको यो अवस्था बनाउने को हो?

धेरै दोष त हामी नेतालाई थोपर्छौँ। यिनले देश बिगार्यो भनेर। फेरी, नेताहरुमा पनि काङ्ग्रेसले कम्युनिस्टलाई देखाउदा होलान्। कम्युनिस्टले काङ्ग्रेसलाई देखाउदा होलान्। ए, कम्युनिस्ट पनि अनगिन्ती पो छन् त हो! ऐले को हर्ताकर्ता माओबादीले काङ्ग्रेस, एमालेलाई देखाउदा होलान्। लौ यो माओबादी पनि पो कति वटा भए हो? जे होस्, कसैको दोष फेरी राजा तिर होला अनि कसैको राणातिर।

पैले बितेको समयमा देश राणाले वा राजाले कसले बिगारे त्यो त थाहा भएन, तर देशको अर्थतन्त्र रेमिट्यान्समा भर परेको थियो जस्तो चै लाग्दैन। कृषि मा आधारित देश भनेर पढेको जस्तो लाग्छ। तर अहिले भने नेपाली अर्थतन्त्र रेमिट्यान्स मै आधारित छ भन्ने पढ्न, सुन्न पाइन्छ। रेमिट्यान्स अर्थात् विदेशबाट पठा'को पैसाले देश धानेको छ रे। गज्जब!

अब अर्थतन्त्र को कुरो आएपछि capitalism (पुँजीवाद) को कुरो त आइहाल्छ। किनकि विश्वको सुपर पावर अमेरिकाले capitalism को बढावा दिन्छ। अनि त्यो सँगै Globalization अर्थात् विश्व व्यापीकरण को कुरो गर्छ। संसार नै एउटा सहर मा परिवर्तन हुदैछ भन्छ अनि यसको फाइदा को लिस्ट देखाउछ। विश्व एउटा बजार! हामी दङ्ग पर्छौ। अमेरिका ले भने पछि ठिक हो। अमेरिका को सामान एकै छिन मा नेपालमा पाइन्छ भने झन् राम्रो नि! मक्ख!!! नेपाल मा पनि KFC, PIZZA HUT!! WOW!!! (KFC काठमाडौँमा खुल्दाको भिड त पत्रिका मै छापिएको थियो नि।)

कुरो ठिकै हो। व्यापारिक आदान-प्रदान हुन्छ नि, हैन र? अमेरिका को सामान नेपालमा, नेपालको सामान अमेरिकामा। क्या मज्जा। ए ....... नेपालको सामान अमेरिकामा? के सामान पठाउने हो? लौ के बन्छ त हामी कहाँ? ढिडो र गुन्द्रुक पठाउने? .............अरे मुर्ख, त्यत्रा नेपाली छन् काम नभ'का। तिनै पठाउने नि अमेरिकामा, D.V. भर्न दिएकै छ क्यारे!

..............................

हामी आफुलाई सधैं स्वतन्त्र रहेको धाक लाउछौँ तर त्यो जमानाको कुरो गर्दै मक्ख परेर आज पेट भरिन्न। ऐले विश्व एउटा भूगोलमा बाधिएको छैन। पश्चिमी देशहरु Globalization भन्ने अस्त्रले विश्व विजय गर्दै छन्। हामी चारैतिर बाट आक्रमित छौं। सैनिक शक्तिले पराजित हुदैमा मात्र देश हार्ने होइन। आजको लडाई Globalization को हो। देश Globalization को लडाईमा हार्दै छ। अरे यार, केहि त हुनुपर्छ हतियार नेपालमा यो लड़ाई लड्न? त्यो लड़ाई लड्न न नेपालले कुनै तयारी गर्यो, न समय नै पायो। अनि त्यो विदेशी सुपर पावरको अगाडि हामी निहत्था नेपाली बाहेक को नै भए र? अनि त देश आफ्ना नागरिकलाई अरु देशमा बलि चदाउदैछ। नागरिकलाई मजदुर बनाएर देश धान्दै छ।

दोष कसको?

हामी नेपाली हौँ। हिन्दी सिनेमा हेर्छौ, हिन्दी टि.भी. हेर्छौ। अंग्रेजी गीत सुन्छौ। अंग्रेजी पढ्छौ। मैले देश मै मास्टर्स पढें, व्यवस्थापनमा। तर देशको बारेमा कमै पढें। किताब हुन्थ्यो कुनै अंग्रेजले लेखेको। कैले खै कुन देशमा प्रतिपादित थ्योरी को पढाई, कैले कुन चै देश को कम्पनी ले यस्तो गर्यो, उस्तो गर्यो। case study भनेर समेत विदेशी कम्पनी को नालीबेली! अनि त्यो पढाई नेपालमा के काम? लाग्छ, हामी विदेश मै आउन को लागि तयार भैरहेका हुन्छौं। अंग्रेजी शिक्षा, अनि अमेरिकन सपना।

त्यसैले मलाई लाग्छ, नेपालमा राजनीतिक अवस्था जस्तो भए पनि म विदेश आउनुमा दोष छ यो नयाँ परिवेशको। यो Globalization को। यो Brainwashing को। स्कुले शिक्षा, TV, पत्रिका, INTERNET,  ADVERTISING, यी सबैबाट भै'रहेको यो Brainwashing को। I am not free. I am not free to decide. This society tells me to learn English, teaches me about american corporate world, praises capitalism, worships money, brainwashes me with education and advertising, and then lets me to decide my own destiny. अनि बाटो हुन्छ त्यहि, विदेश।

........................

लौ जा, मैले त दोष लगाइदिए। के गर्ने नेपालीको दोष देखाउने बानी परेको! तपाईंको दोष चै कसलाई नि?

Saturday, January 12, 2013

यो नेपाली भिसा लगाई....


यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।
वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।

चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन।
चाहे बोलोस् निलो आकास, यो नेपाली सुन्दैन।

वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।

एकातिर नेता गण को सधैँ खिचातानी छ।
अर्कोतिर दुई छिमेकी को उत्तरोत्तर प्रगति छ।

यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।

जन्मे यहाँ गौतम बुद्ध, शान्ति का अग्रदूत।
सगरमाथा शिर झुकाउने, गृह-युद्ध गर्ने हामी सपूत।

वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।
यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।
यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।।

Saturday, December 29, 2012

सबैभन्दा कम भ्रष्टाचार


न्यु जिल्यान्ड, विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देश। म यता आउन लाग्दा मेरा मित्रले सुनाउँदै थे। ओहो, धेरै राम्रो देश रैछ जस्तो छ यार । यस्तै ठाउँमा जानुपर्छ । यो भ्रस्टाचार को देश (नेपाललाई भन्न खोज्या) काम छैन। मलाई नि गजब लाग्यो। कस्तो होला त्यो देश?
.......................................

एक दिन कोठामा बस्दै थिए, अगाडी को ढोका ढ्याक ढ्याक गर्छ। को रैछ भनी हेर्न गा'को त क्रिस्चियन धर्म प्रचार गर्न हिडेका बुढा -बुढी रैछन्। लौ यता उनीहरुकै देश मा पनि के प्रचार गर्न हिडिरा होला ? मलाई कहाँ बाट आ'को, के धर्म हो सोध्दै थिए। अनि पढ्न दिए उनीहरुका कुरा। यता धेरै भ्रष्टाचार छ बाबु, प्रभु ले सब ठिक गर्छन् भन्दै थिए। आँई ....... के हो यो? भ्रस्टाचार??? "ह्या न्यु जिल्यान्डमा कम छ भन्ने पो सुनेथे त।" मैले प्रश्न गरें। "होइन बा, यता धेरै भ्रष्टाचार हुन्छ" रे लौ। के अचम्म!!!
.....................................

विकिपेडिया का अनुसार , "corruption is spiritual or moral impurity or deviation from an ideal." खतरा नै रैछ परिभाषा पनि । त्यसैले परिभाषा भन्दा पनि बरु भ्रस्टाचार को तरिका तिर जाउँ। विकिपेडियाको अनुसार नै भ्रस्टाचारका तरिकाहरुमा घुस लिने-दिने, सार्वजनिक सम्पत्तिको  निजी उपयोग, ठगी, निजी उपयोगको लागि सार्वजनिक अधिकारको दुरुपयोग गर्नु, निर्णयाधिकार को गलत उपयोग, नातावाद, कृपावाद, आदि, इत्यादि  छन्। भ्रस्टाचार विरुद्ध काम गर्ने Transparency International को web site मा पनि परिभाषा खोजेको, मैले त भेटिन। जे होस्, यो संस्था नै हो देश देश को भ्रस्टाचार को list निकाल्ने। कुन देश मा भ्रस्टाचार धेरै र थोरै भनेर वर्षै पिच्छे list छाप्ने। 2012 वर्षको लागि न्यु जिल्यान्ड एक नम्बर मा छ अनि नेपाल एक सय चवन्न मा। अफगानिस्तान, उत्तर कोरिया र सोमालिया रहेछ लास्टमा, एक चौहत्तर नम्बरमा।

नेपाल आफ्नै देश। आफ्नो देशमा कति भ्रस्टाचार भैरहेछ, कहाँ-कता भैरहेछ हामीलाई अनुभव भैहाल्छ। अनि फेरी अन्तर राष्ट्रिय संस्थाले लिस्ट निकाल्छ, ल है तिम्रो देशमा यति विधि भ्रस्टाचार हुन्छ, तिमि लिस्ट को लास्ट तिर छौ भन्छ । अनि हामीलाई लाग्छ, हो यार हाम्रो देश त गए गुज्रेकै छ। खत्तम छ। विदेश नै ठिक छ। विदेश भन्नाले गोरो मान्छेहरु बस्ने देश। गोरो मान्छेको सबै कुरा गोरो। सफा। त्यहाँ मात्र राम्रो आचरण। no भ्रस्ट आचारण । हामी यो पनि सोच्दैनौ कसरी हाम्रो देश लाई त्यो Transparency International भन्ने संस्थाले कैले तेरो यो नम्बर, कैले त्यो नम्बर भनेर लिस्ट गर्छ। उसले गर्ने भनेको Corruption Perception Index को आधारमा हो, जुन सम्बन्धित देशको तथाकथित विज्ञहरु तथा व्यापारीहरुको राय सर्वेक्षण (opinion survey) अनुसार निर्धारण गरिन्छ। यो भ्रस्टाचार नाप्ने पद्दति आफैमा विवादास्पद छ। किन यसले विकास उन्मुख राष्ट्र र कम्युनिस्ट राष्ट्रलाई जैले नि लिस्टको तल तिर पार्छ त ? धनी देशमा भ्रस्टाचार कम नै हुने हो त? कि धनी देशका विज्ञहरु सरकार नजिक हुने हुन्, जसले आफैले गरेको भ्रस्टाचार नदेख्ने पो हुन् कि? आखिर opinion न हो।

नेपालमा भ्रस्टाचार नभएको होइन। एकदम छ। तर नेपालको तुलना न्यु जिल्यान्ड सँग कसरी गर्न सकिन्छ। सबभन्दा कम भ्रस्टाचार, एक नम्बरमा न्यु जिल्यान्ड संगै डेनमार्क र फिनल्याण्ड छन्। यी तीन देशमै नेपाल को तुलनामा कति थोरै मान्छे बस्छन्, तर नेपाल हेरि कति धेरै resources छ । मान्छे नै छैनन् भने कसले गर्ने भ्रस्टाचार? अनि सबैलाई पुगिसरी छ भने फेरी किन भ्रस्ट आचरण? यो हल्का सोच्ने तरिका भो। तर कुरो चै के भने भ्रस्टाचार को अनेक रुप हुन्छ। नेपालमा सरकारी कार्यालयमा घूस लिने-दिने व्यापक देखिएकोले सबैले भ्रस्टाचार देख्छन्। तर यता विदेश तिर चै अलि लुकिएको भ्रस्टाचार हुन्छ। ठूला-बडा भ्रस्टाचार हुन्छन्। हुन त नेपालमा नि ठूला-बडा भ्रस्टाचार नहुने त होइन। तैपनि यताको ठूला-बडा भ्रस्टाचारले त पूरै विश्व नै प्रभावित हुन्छ। खास गरी अमेरिका (U.S.A.) को। अमेरिका को economic  recession ले सबै देशलाई असर गरेको त देखिएकै हो। अनि अमेरिका को त्यो economic recession को पछाडी व्यापारिक घरानाहरुको भ्रस्टाचार थियो भनेर पछि खुलासा भएकै कुरा हो। तिनै व्यापारी हरु हुन् अमेरिकी राजनीतिक पार्टीहरुलाई चन्दा दिने। अनि आफ्नो अनुकूल सरकारी नीति ल्याउन त्यहाँ भ्रस्टाचार भएन होला कसरी नभन्ने ।

यस्तै खालको भ्रस्टाचार को कुरा गर्छन् यता न्यु जिल्यान्ड तिर पनि। अचेल निजीकरण को कुरो छ यता। त्यसैले निजीकरणको नाममा सरकार निकट व्यापारी को भागमा सरकारी सम्पति कतै सुम्पिने त होइन? भ्रस्टाचार को अर्को तरिका। यसैको विरोध हुदैछ। यसका अलावा नातावाद, कृपावाद संसारको जुनसुकै कुनामा पनि हुन्छ। मान्छे न हुन् यार, आफ्नो त जसको नि राम्रो भै हाल्छ नि।

यस्तै हो साथी, देश अनुसारको भेष। देश अनुसारको भ्रस्टाचार। 

Thursday, December 20, 2012

मेरो प्रौढ-शिक्षा


म सान-सानै हुँदा खेरी प्रौढ शिक्षा भनेर खुब प्रचार हुन्थ्यो। बुढा -बूढी लाई अक्षर चिनाउन भनेर रेडियो, टि.भी. मा बिज्ञापन पनि बज्थ्यो। पढ्यो भने अरुले ठग्न सक्दैन यस्तै यस्तै। किताब पनि चित्रै चित्रले सजेको रमाइलो हुन्थ्यो। comics जस्तो। त्यसैले बुढा-बुढीका लागि छापिएका ती किताब म पनि रमाई रमाई पढ्थे। अचेल आफै बुढो भइयो। मास्टर्स सकेर पाँच वर्ष पछि विदेश आउने बहानामा फेरी पढ्ने मौका जुर्यो।

अस्ति online मा साथि सँग च्याट हान्दै थे। केटाहरु विदेशमा पढ्दै, भिषा थप्दै बस्ने गर्छन्, आदि, इत्यादि कुरा भयो। अनि केटाहरु पढाई जति जम्मै गरि सक्छन् रे, बुढो हुँदा पढ़ी बस्छन् रे भन्ने कुराकानी भो। यस्तालाई साथीहरु प्रौढ शिक्षा गर्ने पो भन्दा रैछन्। साथीले सुनाउदै थे।

हुन पनि विदेश बस्नै परो। भिषा थप्नै परो। अनि अनेक अनेक विषय पढ़ी सक्छन्। साइन्स पढेका कमर्स गर्छन्। कमर्स गरेका कुक पढ्छन् । यस्तै रै'छ अचेल को प्रौढ शिक्षा।

यस्तै प्रकारले म पनि आईपुगे प्रौढ शिक्षा गर्न विदेश तिर। पढिसकेको एकाउन्ट फेरी पढ्न। एकाउन्टमा खासै दक्खल नभए नि कमर्समा मास्टर्स गर्दा पढ़िसकेकै विषय हो। विदेशमा फेरी त्यै विषय दोहोर्याउने मात्र त हो। तैपनि विदेशी पढाई, अलि धमाका त होला। केहि ज्ञान गुन बढ्ला। एकातिर यस्तो पोजिटिभ कुरा थ्यो। अर्का तिर, यो प्रौढ शिक्षा गर्दा कतै म एक्लै त प्रौढ हुने हो कि साना बालखहरुको माझमा, टेन्सन थियो। तैपनि अब आइहालियो, पढ्नै पर्यो। क्लासमा पसेको त म आफै पो बालक रैछु जस्तो भो। बा-आमा जस्ता नि थिए यार  कोहि त । ओहो, हाई -सन्चो भो। विदेशमा खासै मतलब नहुने रैछ। को बच्चा, को बुढा। सब बराबर। पढाउने गुरुलाई त "Hi John" रे, आफ्नै साथीलाई झैँ। अझ, मलाई नयाँ देखेर गुरु आफैं "Hi, I am John" भन्दै हात मिलाउन पो आउछन् यार। रमाइलो रैछ।

पढाई चै ठिकै हो। त्यस्तो बबालै भएन। तर गुरु एकदम सहयोगी। पढाउने तरिका चै कम्प्युटर खोलेर सेतो बोर्डमा Presentation दे'को दै। दिनमै एउटा chapter सक्ने। अब अचेल नेपालमै पनि कम्प्युटर हेर्ने, अनि के जाति laptop लिने, Presentation दिने चलन आयो कि क्या हो, तर आफु त अलि बुढा-खाडा परियो, यति विधि देख्नलाई विदेशै आउनु प'रो। Anyway, देश अनुसारको भेष त गर्ने परिगो। पढ़ियो विदेशी शिक्षा। तर आफुले त पैले नेपालमै राम्रै सँग पढेको थे क्यारे , यस्सो revision गरियो भन्नु पर्यो । गुरुले नि सोध्धै थ्यो, "Have  u  done accounting before?" रे , अलिअलि भनी गफ लाइदिए। जाँचमा त एउटो विषयमा क्लास टप नै पो गरिएछ ए गाठें! क्याम्पस बाट फोन पो गर्छ, प्राइज लिन आइजो रे। "Thank you" भन्दै म पनि पुगे प्राइज दिने-लिने कार्यक्रममा। विदेशी प्राइज कार्यक्रम रमाइलो गर्दा रैछन्, जोक हान्ने, अनि हास्ने। आधा बुझियो, आधा तेस्सै हाँसियो। अनि प्राइज लिने टाइम पनि आयो, लिइयो। के दिएछन् भनि यस्सो हेरेको त, "This is to certify that you have topped the subject" भनेर एउटा चिठी मात्र पो रैछ यार .........। खिस्स!

यस्तै छ मेरो विदेशी प्रौढ शिक्षा। केहि नयाँ जान्ने, सिक्ने अवसर चै भैराछ। जीवनमा पढाई भन्ने कुरा कैले सकिन्न। अनि त्यो कक्षा-कोठामा मात्र सीमित पनि हुन्न र, उमेरले पनि छेक्दैन। सिक्न खोज्नु पर्छ।