Thursday, December 20, 2012

मेरो प्रौढ-शिक्षा


म सान-सानै हुँदा खेरी प्रौढ शिक्षा भनेर खुब प्रचार हुन्थ्यो। बुढा -बूढी लाई अक्षर चिनाउन भनेर रेडियो, टि.भी. मा बिज्ञापन पनि बज्थ्यो। पढ्यो भने अरुले ठग्न सक्दैन यस्तै यस्तै। किताब पनि चित्रै चित्रले सजेको रमाइलो हुन्थ्यो। comics जस्तो। त्यसैले बुढा-बुढीका लागि छापिएका ती किताब म पनि रमाई रमाई पढ्थे। अचेल आफै बुढो भइयो। मास्टर्स सकेर पाँच वर्ष पछि विदेश आउने बहानामा फेरी पढ्ने मौका जुर्यो।

अस्ति online मा साथि सँग च्याट हान्दै थे। केटाहरु विदेशमा पढ्दै, भिषा थप्दै बस्ने गर्छन्, आदि, इत्यादि कुरा भयो। अनि केटाहरु पढाई जति जम्मै गरि सक्छन् रे, बुढो हुँदा पढ़ी बस्छन् रे भन्ने कुराकानी भो। यस्तालाई साथीहरु प्रौढ शिक्षा गर्ने पो भन्दा रैछन्। साथीले सुनाउदै थे।

हुन पनि विदेश बस्नै परो। भिषा थप्नै परो। अनि अनेक अनेक विषय पढ़ी सक्छन्। साइन्स पढेका कमर्स गर्छन्। कमर्स गरेका कुक पढ्छन् । यस्तै रै'छ अचेल को प्रौढ शिक्षा।

यस्तै प्रकारले म पनि आईपुगे प्रौढ शिक्षा गर्न विदेश तिर। पढिसकेको एकाउन्ट फेरी पढ्न। एकाउन्टमा खासै दक्खल नभए नि कमर्समा मास्टर्स गर्दा पढ़िसकेकै विषय हो। विदेशमा फेरी त्यै विषय दोहोर्याउने मात्र त हो। तैपनि विदेशी पढाई, अलि धमाका त होला। केहि ज्ञान गुन बढ्ला। एकातिर यस्तो पोजिटिभ कुरा थ्यो। अर्का तिर, यो प्रौढ शिक्षा गर्दा कतै म एक्लै त प्रौढ हुने हो कि साना बालखहरुको माझमा, टेन्सन थियो। तैपनि अब आइहालियो, पढ्नै पर्यो। क्लासमा पसेको त म आफै पो बालक रैछु जस्तो भो। बा-आमा जस्ता नि थिए यार  कोहि त । ओहो, हाई -सन्चो भो। विदेशमा खासै मतलब नहुने रैछ। को बच्चा, को बुढा। सब बराबर। पढाउने गुरुलाई त "Hi John" रे, आफ्नै साथीलाई झैँ। अझ, मलाई नयाँ देखेर गुरु आफैं "Hi, I am John" भन्दै हात मिलाउन पो आउछन् यार। रमाइलो रैछ।

पढाई चै ठिकै हो। त्यस्तो बबालै भएन। तर गुरु एकदम सहयोगी। पढाउने तरिका चै कम्प्युटर खोलेर सेतो बोर्डमा Presentation दे'को दै। दिनमै एउटा chapter सक्ने। अब अचेल नेपालमै पनि कम्प्युटर हेर्ने, अनि के जाति laptop लिने, Presentation दिने चलन आयो कि क्या हो, तर आफु त अलि बुढा-खाडा परियो, यति विधि देख्नलाई विदेशै आउनु प'रो। Anyway, देश अनुसारको भेष त गर्ने परिगो। पढ़ियो विदेशी शिक्षा। तर आफुले त पैले नेपालमै राम्रै सँग पढेको थे क्यारे , यस्सो revision गरियो भन्नु पर्यो । गुरुले नि सोध्धै थ्यो, "Have  u  done accounting before?" रे , अलिअलि भनी गफ लाइदिए। जाँचमा त एउटो विषयमा क्लास टप नै पो गरिएछ ए गाठें! क्याम्पस बाट फोन पो गर्छ, प्राइज लिन आइजो रे। "Thank you" भन्दै म पनि पुगे प्राइज दिने-लिने कार्यक्रममा। विदेशी प्राइज कार्यक्रम रमाइलो गर्दा रैछन्, जोक हान्ने, अनि हास्ने। आधा बुझियो, आधा तेस्सै हाँसियो। अनि प्राइज लिने टाइम पनि आयो, लिइयो। के दिएछन् भनि यस्सो हेरेको त, "This is to certify that you have topped the subject" भनेर एउटा चिठी मात्र पो रैछ यार .........। खिस्स!

यस्तै छ मेरो विदेशी प्रौढ शिक्षा। केहि नयाँ जान्ने, सिक्ने अवसर चै भैराछ। जीवनमा पढाई भन्ने कुरा कैले सकिन्न। अनि त्यो कक्षा-कोठामा मात्र सीमित पनि हुन्न र, उमेरले पनि छेक्दैन। सिक्न खोज्नु पर्छ।

2 comments: