Wednesday, January 23, 2013

न्यु जिल्याण्डमा बिरालो विरुद्ध अभियान


अचम्म अचम्म सुन्नु पर्छ कैले काहिँ। अझ यी विदेशीको तालै फरक।

न्यु जिल्याण्ड आफुलाई "100% pure" भनेर पर्यटन को प्रचार गर्छ। हेर्नुस् भिडियो http://goo.gl/d9ygD । उसको पर्यटनको नारा नै Clean ,Green Tourism को छ। शुद्ध संसारको अलग अनुभव।

यस्तै न्यु जिल्याण्डलाई शुद्ध राख्ने एउटा एकदमै अलग अभियान Gareth Morgan (न्यु जिल्याण्डका एक अर्थशास्त्री, व्यवसायी, philanthropist) ले भर्खरै शुरु गरेको सुन्नमा आयो। उनको अभियान चाहिँ परेछ, न्यु जिल्याण्डलाई बिरालो मुक्त देश बनाउने। किन त भन्दा बिरालोले न्यु जिल्याण्डका लोपोन्मुख चराहरु सिध्याउन थाल्यो रे, त्यसैले उनी चै बिरालो नै सिध्याउने अभियान मा लागेछन्। उनको यो "Cats to go" अभियान बारे थप यहाँ पढ्न सकिन्छ, http://garethsworld.com/catstogo/ । उनका अनुसार जन्मजात शिकारी  हुने बिरालो खानको लागि नभई रमाइलो को लागि मात्र पनि शिकार गर्छ, त्यसैले दुर्लभ चरा सखाप पार्न यो धेरै नै जिम्मेवार छ। त्यसैले उनको अपिल छ न्यु जिल्याण्ड बासी लाई, बिरालो पाल्न बन्द गरौ र न्यु जिल्याण्ड लाई बिरालो मुक्त देश बनाऊ।

गज्जब छ। बिचरा बिरालो चै अशुद्ध पो परेछ। शुद्ध देशमा बस्न नमिल्ने। :p 


Monday, January 21, 2013

विदेशिन बाध्य पार्ने को?


अचेल विदेश जानु अनि घर (नेपाल) पैसा पठाउनु अधिकांश नेपालीको काम भएको छ। हामी नेपाली किन विदेश आइपुग्यौं त ? हाम्रो अगाडी तेर्सिएका रेडिमेड उत्तरहरु हुन्; नेपालमा काम छैन, नेपालमा पैसा छैन, नेपालमा राम्रो वातावरण नै छैन। सधैं लोडसेडिंग, सधैं हड्ताल, सधैं बन्द। के गर्ने नेपाल बसेर?

म पनि आइपुगे यार, यस्तै बहाना लिएर। कहिले सोच्या थिइन विदेश आउछु भनेर। तैपनि म आइपुगे। विदेश। पैसा कमाउन, भविष्य बनाउन। अहिले फुर्सदमा सोच्दैछु, मलाई अनि धेरै नेपालीलाई विदेशिन बाध्य पार्ने के हो त्यो कारण? देशको अवस्था नै मूल कारण हो त? अनि देशको यो अवस्था बनाउने को हो?

धेरै दोष त हामी नेतालाई थोपर्छौँ। यिनले देश बिगार्यो भनेर। फेरी, नेताहरुमा पनि काङ्ग्रेसले कम्युनिस्टलाई देखाउदा होलान्। कम्युनिस्टले काङ्ग्रेसलाई देखाउदा होलान्। ए, कम्युनिस्ट पनि अनगिन्ती पो छन् त हो! ऐले को हर्ताकर्ता माओबादीले काङ्ग्रेस, एमालेलाई देखाउदा होलान्। लौ यो माओबादी पनि पो कति वटा भए हो? जे होस्, कसैको दोष फेरी राजा तिर होला अनि कसैको राणातिर।

पैले बितेको समयमा देश राणाले वा राजाले कसले बिगारे त्यो त थाहा भएन, तर देशको अर्थतन्त्र रेमिट्यान्समा भर परेको थियो जस्तो चै लाग्दैन। कृषि मा आधारित देश भनेर पढेको जस्तो लाग्छ। तर अहिले भने नेपाली अर्थतन्त्र रेमिट्यान्स मै आधारित छ भन्ने पढ्न, सुन्न पाइन्छ। रेमिट्यान्स अर्थात् विदेशबाट पठा'को पैसाले देश धानेको छ रे। गज्जब!

अब अर्थतन्त्र को कुरो आएपछि capitalism (पुँजीवाद) को कुरो त आइहाल्छ। किनकि विश्वको सुपर पावर अमेरिकाले capitalism को बढावा दिन्छ। अनि त्यो सँगै Globalization अर्थात् विश्व व्यापीकरण को कुरो गर्छ। संसार नै एउटा सहर मा परिवर्तन हुदैछ भन्छ अनि यसको फाइदा को लिस्ट देखाउछ। विश्व एउटा बजार! हामी दङ्ग पर्छौ। अमेरिका ले भने पछि ठिक हो। अमेरिका को सामान एकै छिन मा नेपालमा पाइन्छ भने झन् राम्रो नि! मक्ख!!! नेपाल मा पनि KFC, PIZZA HUT!! WOW!!! (KFC काठमाडौँमा खुल्दाको भिड त पत्रिका मै छापिएको थियो नि।)

कुरो ठिकै हो। व्यापारिक आदान-प्रदान हुन्छ नि, हैन र? अमेरिका को सामान नेपालमा, नेपालको सामान अमेरिकामा। क्या मज्जा। ए ....... नेपालको सामान अमेरिकामा? के सामान पठाउने हो? लौ के बन्छ त हामी कहाँ? ढिडो र गुन्द्रुक पठाउने? .............अरे मुर्ख, त्यत्रा नेपाली छन् काम नभ'का। तिनै पठाउने नि अमेरिकामा, D.V. भर्न दिएकै छ क्यारे!

..............................

हामी आफुलाई सधैं स्वतन्त्र रहेको धाक लाउछौँ तर त्यो जमानाको कुरो गर्दै मक्ख परेर आज पेट भरिन्न। ऐले विश्व एउटा भूगोलमा बाधिएको छैन। पश्चिमी देशहरु Globalization भन्ने अस्त्रले विश्व विजय गर्दै छन्। हामी चारैतिर बाट आक्रमित छौं। सैनिक शक्तिले पराजित हुदैमा मात्र देश हार्ने होइन। आजको लडाई Globalization को हो। देश Globalization को लडाईमा हार्दै छ। अरे यार, केहि त हुनुपर्छ हतियार नेपालमा यो लड़ाई लड्न? त्यो लड़ाई लड्न न नेपालले कुनै तयारी गर्यो, न समय नै पायो। अनि त्यो विदेशी सुपर पावरको अगाडि हामी निहत्था नेपाली बाहेक को नै भए र? अनि त देश आफ्ना नागरिकलाई अरु देशमा बलि चदाउदैछ। नागरिकलाई मजदुर बनाएर देश धान्दै छ।

दोष कसको?

हामी नेपाली हौँ। हिन्दी सिनेमा हेर्छौ, हिन्दी टि.भी. हेर्छौ। अंग्रेजी गीत सुन्छौ। अंग्रेजी पढ्छौ। मैले देश मै मास्टर्स पढें, व्यवस्थापनमा। तर देशको बारेमा कमै पढें। किताब हुन्थ्यो कुनै अंग्रेजले लेखेको। कैले खै कुन देशमा प्रतिपादित थ्योरी को पढाई, कैले कुन चै देश को कम्पनी ले यस्तो गर्यो, उस्तो गर्यो। case study भनेर समेत विदेशी कम्पनी को नालीबेली! अनि त्यो पढाई नेपालमा के काम? लाग्छ, हामी विदेश मै आउन को लागि तयार भैरहेका हुन्छौं। अंग्रेजी शिक्षा, अनि अमेरिकन सपना।

त्यसैले मलाई लाग्छ, नेपालमा राजनीतिक अवस्था जस्तो भए पनि म विदेश आउनुमा दोष छ यो नयाँ परिवेशको। यो Globalization को। यो Brainwashing को। स्कुले शिक्षा, TV, पत्रिका, INTERNET,  ADVERTISING, यी सबैबाट भै'रहेको यो Brainwashing को। I am not free. I am not free to decide. This society tells me to learn English, teaches me about american corporate world, praises capitalism, worships money, brainwashes me with education and advertising, and then lets me to decide my own destiny. अनि बाटो हुन्छ त्यहि, विदेश।

........................

लौ जा, मैले त दोष लगाइदिए। के गर्ने नेपालीको दोष देखाउने बानी परेको! तपाईंको दोष चै कसलाई नि?

Saturday, January 12, 2013

यो नेपाली भिसा लगाई....


यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।
वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।

चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन।
चाहे बोलोस् निलो आकास, यो नेपाली सुन्दैन।

वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।

एकातिर नेता गण को सधैँ खिचातानी छ।
अर्कोतिर दुई छिमेकी को उत्तरोत्तर प्रगति छ।

यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।

जन्मे यहाँ गौतम बुद्ध, शान्ति का अग्रदूत।
सगरमाथा शिर झुकाउने, गृह-युद्ध गर्ने हामी सपूत।

वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।
यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।
यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।।