Monday, December 9, 2013

पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ ..

अरु केहि होइन, पैसा नै चाहिन्छ।
पैसा छ गोजीमा, यहाँ सबै पाइन्छ।
पैसाले पुग्दैन है, डलर नै चाहिन्छ।
विदेशी इस-टाइल देशमा कहाँ पाइन्छ ?
पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।
भात खाने मुखलाई पनि पिज्जा नै चाहिन्छ।
नोकिया थोत्रो भयो, आई-फोन नै चाहिन्छ।
पढ्ने बहाना बनाई विदेश तिर आइन्छ।
पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।

पछि को पछि छ, देश मेरो नेपाल।
फर्किनु मन थियो, पैसा कै लफडा।
फर्कन को आउछ र ? PR पो चाहिन्छ।
नेपाली माया अब फेसबुक मै बाढिन्छ।
"Proud to be Nepali" स्टाटस राखिन्छ।
नेतालाई गाली गर्न कुन साइत चाहिन्छ ?
देशको माया लौ है अचेल इन्टरनेट मा पाइन्छ।

पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।
अनेक बहाना बनाई विदेश नै आइन्छ।
पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।
देशको माया लौ है अचेल इन्टरनेट मै पाइन्छ।

Thursday, October 24, 2013

गरिब देश


चुनाव आउन लाग्यो फेरी संविधान सभाको। अनि नेतालाई गालि सुरु भो।  सामाजिक संजालमा।
नेपालमा सबै तन्त्र आयो।  राजा (राजतन्त्र), राणा (तानाशाह), प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र।  कांग्रेस, कम्युनिस्ट, सबैले सरकार चलाए।  तैपनि नेपाल नेपाल नै रह्यो। परिवर्तन भएन भन्छन्।  अझ सामाजिक संजाल मा सुनिन्छ पनि यी ** नेताहरुले देश डुबाए। यिनले गर्दा नेपाली विदेशिन बाध्य भयो।

तर सोचनीय कुरा के भने यी सब तन्त्र नेपालमा किन फेल खाए? नेताकै मात्र दोष हो र? ति नेता पनि त नेपाली नै हुन् यार, तिनले पनि त नेपालको राम्रो सोचेकै होलान् नि । एक-दुई जना खराब होलान् रे लौ, सबै त होइनन् होला। त्यसैले नेपालको गरिबी बारे अलि अलग तरिका ले सोच्नु पर्ला जस्तो लाग्छ।

Marketing मा हो या Economics मा हो, एउटा भनाई छ, location is important. यसैको सन्दर्भमा नेपाललाई दाँजेर हेर्दा नेपालमा भएका resources हरुको बयान गर्नु पर्ने हुन्छ।  भन्न त भनिन्छ नेपालमा प्राकृतिक सम्पदाको खानी छ।  हिमाल छ, पहाड छ, तराइ छ।  तर यो कुरो पनि त सोच्नु पर्यो, हिमाल मा कृषि सम्भव छैन। पहाडमा गाह्रो छ अनि तराईले मात्र नेपाल को जनसंख्या लाई धान्न शायद गाह्रो छ। त्यसैले त देश कृषिमा पनि आत्मनिर्भर छैन।

अब अरु के छ नेपालमा? न सुनको खानी छ।  न फलामको खानी छ।  जलस्रोत को धनी भन्छन् सधैँ, तर समुन्द्र छैन। नेपाल शायद बिजुली निकाल्न योग्य जलस्रोतमा धनि होला। तर बिजुली पानीबाट आफै निस्कने त होइन। पैसो चाहियो। पैसो छैन।  अरु देशसँग मिलेर गर्न खोज्दा, नदीनाला बेच्यो भन्छन्। अनि यस्तै हो, अध्याँरो मै बस सोल्टी। सारंगी रेट, देश को गीत गाउँ, बस।

जुन पनि देश धनी छ, त्यहाँ resources छ। exception कमै छन्। जापान exception हो शायद। नत्र अरब धनी छ तेलले, अमेरिका धनि छ बलले। अस्ट्रेलिया सुनले, न्यु जिल्यान्ड कृषिले। धनी हुन केहि त हुन पर्यो नि।  त्यसै गफैले कोहि धनि हुन्छ यार । धनि हुन resources हुनु पर्छ। त्यसको utilise गर्ने मान्छे त निस्किहाल्छ्न। व्यापारी नेपालमा कम छन् र।

यी नेता को गल्ती भनेको चाहिँ नचाहिँदो सपना बाड्नु हो। जुन तन्त्र आएपनि केहि हुने वाला छैन। देश धनी  हुने भनेको अर्थव्यवस्थाले हो। राजनीतिले होइन। त्यसैले नेतालाई सराप्न छोडौं, अर्थ व्यवस्था सुधार्न पट्टि लागौँ। आफ्नो काम गरौँ, आफैं धनी हुने कोसिस गरौँ, देश धनी हुँदै गर्छ।

Monday, August 5, 2013

मैले बुद्धत्व पाएँ रे लौ, तर यो संसारलाई बुद्धत्व चाहिएको छैन रै'छ भने के अर्थ फ़लाक्दै हिड्नु को? आखिर "light of world" भनेर अचेल चिनिने Jesus त क्रस मा चढ्नु पर्यो।
पैसा थुपार्ने दुईटै तरीका छ, कि त आफैँ पैसा छाप्नु कि त अरूको पैसा खोस्नु।

Tuesday, July 9, 2013

जसरी communism एउटा कल्पना हो, त्यसरी नै capitalism, free market अनि globalisation भन्नु पनि एक दिवा-स्वप्न मात्र हो। nothing like this exists in real world and cannot exist. So, the need is for behavioural economics, that would be true to its surroundings.

Sunday, April 14, 2013

नयाँ वर्ष २०७० - शुभकामना


म गुगलमा क्यालेन्डर खोज्दैछु, नेपाली। आफुलाई सम्झाउन खोज्दै छु, नेपाली समय। आज नयाँ वर्ष भन्छन्। फेसबुकमा शुभकामनाहरु देख्छु। यो विदेशी धर्तीमा म मेरो नेपाली समय खोज्छु।

............

नेपालीमा ब्लग लेख्नु नि महाभारत छ आफ्नो लागि। नेपाली टाइपिङ्ग सिकिएन। यो गूगल को transliterate ले हैरान पारिसक्यो। इन्टरनेट स्लो भाको हो कि के हो, लेख्न खोजेको शब्दै देखाउन्न। पागल बनाइसक्यो। आ ... उफ ...... बल्ल खुल्यो नेपाली पात्रो पनि। लौ १ गते रैछ आज बैशाख महिनाको। .........साला .... नेपाली भएर नेपाली मै ईन्टरनेट चलाउन खोज्नु पनि गाह्रै कुरा छ। नेपालीले बनाको भए पो हुन्थ्यो त .... यी अंग्रेजले बनाको कुरो चलाउनु छ अनि के गर्ने, उसले भने अनुसार नै गर्नु पर्यो। कि त गान्धी ले जस्तो स्वदेशी मात्र चलाउने भनी कम्पुटर नै फ्याक्दिनु परो अनि चर्खा घुमाउदै बस्नु परो, हैन भने यसैलाई सलाम गर्नुपरो।

यस्तै छ जिन्दगानी मित्र .... विदेशी बसाई अनि नेपाली रटाई। के गर्नु नेपालीमा नलेखी नहुने फेरी। सानै देखि लागेको बानी। हाम्रो भाषा, हाम्रो भेष .... प्राण भन्दा प्यारो छ ....... खै भेष त कैले लगाइयो जस्तो लाग्दैन क्यारे तर भाषा चै प्यारो नै हुँदो रैछ। बच्चा देखि नै जुन भाषामा हुर्कियो, बढ्यो, पढ्यो, सोच्यो, झगडा गर्यो, सपना देख्यो, यो नेपाली भाषा लाई कहाँ भुल्न सकिन्छ र .......... अचेल फेरी के भा'को कुन्नि, नेपालकै मात्र सपना देख्छु यार। काठमाडौँ को त्यो भिड, त्यो धुलो, माइक्रो बस, अनि त्यो .... "ए .... बल्खु, किर्तिपुर ......... ए .... बल्खु किर्तिपुर ......"

तर गजब को कुरो यो छ साथी, यो नेपाली भाषा थ्योरीटिकल्लि भन्ने हो कि पोलिटिकल्ली हो मेरो मातृभाषा चै परेन रे हौ .... हैन हो गाठे, अचम्म भएन त लौ ...... म त तामांग को छोरा पो त .... (लौ यो बजिया गूगल लाई तामांग पनि राम्ररी लेख्नु आएन हौ)........ लु ठिकै छ, त कुरो के पर्यो भने मैले थाहा पाए देखि नेपाली बोल्नु, लेख्नु सिकेको .... लु हेरुँ है ....... तर टेक्निकल्ली यो भाषा चै अरु कै मातृ भाषा पो परेछ हौ ..... लु खत्तम ... अब आफ्नो मातृ भाषा तामांग (फेरी बिगार्यो हौ यो गूगले मोरो ले) सिक्न चै मो कता पो जाने हो गाठे यो बुढेसकालमा ....

हौ, अजब छ यो संसार को लीला। आबो यो मोटो दिमाग ले यस्सो सोच्दै गरेको है। ह्या विदेश भन्ने ठाउँमा जन्मेका, हुर्केका नेपालीका बच्चाहरु अंग्रेजी सिक्दा हुन्। अझ अंग्रेजी लवज मै बोल्दा हुन् ..... "हौ .... हाउ यु डू म्यान ..." भन्दा हुन्। अनि तिनि ठुलो भए पछि बाबु तिम्रो मातृ भाषा त नेपाली हो है भन्दा त फेरी  .......... "शिट... म्यान ....." पो भन्लान् हौ कतै। झन् त्यसमाथि नेपाली पनि नभई तामांग (फेरी बिगार्यो .... यो गूगले लाई  त...) हो भन्ने सुनाउँदा त ........ "व्हाट त फ#...... म्यान ......" भन्ने पो डर लागो त हौ ......

त्यसैले यो भाषा, यो भेष, यो माया, यो देश ......... जुन वातावरणमा जन्म्यो, हुर्क्यो, खेल्यो, बढ्यो, पढ्यो, साथी बनायो, झगडा गर्यो, माया गर्यो ......., मान्छे त्यै ठाउँ को हुन्छ यार ...... देश भनेको एउटा सीमाना मात्र कहाँ हो र ... यो त नाता हो .... यो त सम्बन्ध हो ....... यो त माया हो .... विदेशमा अंग्रेजी बोल्दै हुर्केको कुनै बेलाको नेपालीका सन्तानलाई कसरी त्यो सम्बन्धको महत्व हुन्छ र? कसरी त्यो भाषामा ऊ भिज्न सक्छ र? जसरी मैले अब तामाङ् भाषा सिके पनि त्यसमा मलाई भाषा को त्यो रस नहुन सक्छ। मलाई त्यो फुर्सद नै कहाँ हुन्छ र फेरी सिकी बस्न ...... उफ .... म बिग्रेको तामाङ् ( ह्या चै ठिक लेखे कि "तामाङ्".. यो गूगलबाट होइन अन्तै बाट कपि-पेस्ट गरेको हो है )..... आफ्नो भाषा, आफ्नो संस्कृति बिर्सेको तामाङ्। तर गर्ने के अब? जीवन त व्यक्तिगत छ, सामुहिक हुन त अचेल हामीलाई अमेरिकाले बिर्साइदिसक्यो। त्यसैले जसरी म अब तामाङ् सिकेर बस्न सक्दिन, कुनै विदेसिएको नेपालीले नेपाली भाषा च्यापेर बस्न पनि त सक्दैन होला नि।

यस्तै यस्तै भाषा, संस्कृति जोगाउने राजनीतिक अभियान अचेल नेपालमा खुब चल्दैछ । ताम्सालिङ चाहिएको छ रे। हुन त यस्ता कुरा संविधान बन्ने अन्तिम समयमा मात्र धेरै सुनिन्छ। तैपनि मान्छेमा त्यो उग्रपन त छ कतै। सहि, गलत को कुरा नै छैन, कुरा मात्र हक, अधिकारको छ। यो उग्रपनले देशलाई कहाँ पुर्याउने हो खै ?

हो, हामी धेरै तामाङ्ले आफ्नो भाषा, भेष लाई बलि दियौ। अरु जात-जातिले पनि दिए। तर जुन समय गयो, गैसक्यो। अब पछाडी होइन कसरी अगाडि बढ्ने भन्ने कुरो हो। सबै भाषा-भाषी को अधिकार पनि चाहिएको छ देशमा, तर यी अनेक भाषा-भाषी बीच एउटा एकताको सुत्र पनि चाहिएको छ।

त्यो एकता यो नयाँ वर्ष २०७० मा अझ मजबुत होस् ..... शुभकामना .......

Saturday, March 2, 2013

साइको ATM


ATM भनेर मैले त्यो नेपाली फिलिम ATM लाई भन्न खोजेको होइन है, बरु पैसा निकाल्ने ATM चै भन्न खोज्या हो।

भयो के भने अस्ति आइतबार यता नेलसन शहर, न्यु-जिल्यान्ड को ANZ बैंक (बैंकको नाम पनि यस्तै छ, कोई ANZ, कोई BNZ, फेरी कोइ चै ASB, कोई TSB, अरु SSB....भैगो लौ ...पुग्यो) बाट पैसा निकाल्न ला'को। ATM ले पैसै दिन्न यार। बैंक ब्यालेन्स चै घटेर झन्नै सुन्ना पो भो। अनि त दिमाग फुस्कि हाल्यो नि। नेपालमा कैले नभाको यार यस्तो। झन् विदेशी टेक्नोलोजी भनेको त पैसा चै नदिने, ब्यालेन्स मात्र घट्ने टेक्नोलोजी पो परेछ। लौ फसाद! फेरी आइतबार, बैंक बन्द। फोन गरें, बैंक को फ्री फोन मा कसैले उठाउँछ कि भनेर। उठाउने कोइ छैन। टेन्सन भो। अनि के गर्ने? त्यो ब्यालेन्स नभाको कार्ड नै फेरी ट्राई हाने। लौ.... पैसा पो निस्क्यो त! अनि लास्टमा फोन पनि उठायो कसैले, अकल्याण्डबाट बोलेको रे। नेलसन मा मलाई प्रोब्लम भा'को, अकल्याण्डमा पो फोन उठ्यो। तैपनि, यस्तो उस्तो भो भनियो। ल एकै छिन हेर्छु भनेर त्यो मान्छे कता हरायो कता। म कानमा फोन राखिरा'छु, मान्छे बोल्दै बोल्दैन। कान दुखिसक्यो फोन होल्ड को बाजा सुनेर ..... ह्या झ्याउ लाग्दो, राखिदिए फोन।

भोलि पल्ट सोमबार बैंक गएर ATM को नाटक भनेको त खुरुक्क फारम दिन्छ भर्न। ए .... भनेपछि म पहिलो मान्छे होइन रैछु यस्तो प्रब्लम भा'को। फारम नै बनाएर राख्या रैछन् नि यिनले। भरें फारम। एक हप्ता जति लाग्छ रे। ATM को ब्यालेन्स चेक गर्नु पर्छ रे। ठिक छ भने राखिदिन्छ रे। एउटा क्यामेरा ATM मा खुरुक्क राख्द्या भए, देखिहाल्थ्यो पैसा निस्क्या थ्यो कि निस्क्या थेन भनेर। नौटंकी। के गर्ने, कुर्नै पर्यो।

शुक्रबार मिलाएछ। तर फेरी ब्यालेन्स नभाको खाता बाट पैसा निकालेको (बैंक ओभर ड्राफ्ट) भनेर पन्ध्र डलर चार्ज अनि ब्याज पनि पो काटेछ। ल खत्तम! रिसै उठ्यो। उसकै ATM को गल्ती छ, फेरी ताई त तुई को चार्ज काट्ने। धाउनै पर्यो बैंक फेरी। सोधे, के भा'को यो? बैंकमा पनि फेरी कैले को हुन्छ टेलर, कैले को हुन्छ। सबैलाई सुरु देखि को बेलिबिस्तार! चेक गर्यो। अनि लास्टमा बल्ल ए लौ गल्ती भएछ भनेर मिलायो। टेक्नोलोजीको गल्तीले तात्तो न छारो को टेन्सन। जे होस्, धन्न हिसाब किताब मिल्यो भन्नुपरो। के गर्ने, त्यो विदेशी ATM को त्यै बेला कुन चै स्क्रु फुस्किएछ कुन्नि? .....साइको ATM ले टेन्सन दियो।


Wednesday, January 23, 2013

न्यु जिल्याण्डमा बिरालो विरुद्ध अभियान


अचम्म अचम्म सुन्नु पर्छ कैले काहिँ। अझ यी विदेशीको तालै फरक।

न्यु जिल्याण्ड आफुलाई "100% pure" भनेर पर्यटन को प्रचार गर्छ। हेर्नुस् भिडियो http://goo.gl/d9ygD । उसको पर्यटनको नारा नै Clean ,Green Tourism को छ। शुद्ध संसारको अलग अनुभव।

यस्तै न्यु जिल्याण्डलाई शुद्ध राख्ने एउटा एकदमै अलग अभियान Gareth Morgan (न्यु जिल्याण्डका एक अर्थशास्त्री, व्यवसायी, philanthropist) ले भर्खरै शुरु गरेको सुन्नमा आयो। उनको अभियान चाहिँ परेछ, न्यु जिल्याण्डलाई बिरालो मुक्त देश बनाउने। किन त भन्दा बिरालोले न्यु जिल्याण्डका लोपोन्मुख चराहरु सिध्याउन थाल्यो रे, त्यसैले उनी चै बिरालो नै सिध्याउने अभियान मा लागेछन्। उनको यो "Cats to go" अभियान बारे थप यहाँ पढ्न सकिन्छ, http://garethsworld.com/catstogo/ । उनका अनुसार जन्मजात शिकारी  हुने बिरालो खानको लागि नभई रमाइलो को लागि मात्र पनि शिकार गर्छ, त्यसैले दुर्लभ चरा सखाप पार्न यो धेरै नै जिम्मेवार छ। त्यसैले उनको अपिल छ न्यु जिल्याण्ड बासी लाई, बिरालो पाल्न बन्द गरौ र न्यु जिल्याण्ड लाई बिरालो मुक्त देश बनाऊ।

गज्जब छ। बिचरा बिरालो चै अशुद्ध पो परेछ। शुद्ध देशमा बस्न नमिल्ने। :p 


Monday, January 21, 2013

विदेशिन बाध्य पार्ने को?


अचेल विदेश जानु अनि घर (नेपाल) पैसा पठाउनु अधिकांश नेपालीको काम भएको छ। हामी नेपाली किन विदेश आइपुग्यौं त ? हाम्रो अगाडी तेर्सिएका रेडिमेड उत्तरहरु हुन्; नेपालमा काम छैन, नेपालमा पैसा छैन, नेपालमा राम्रो वातावरण नै छैन। सधैं लोडसेडिंग, सधैं हड्ताल, सधैं बन्द। के गर्ने नेपाल बसेर?

म पनि आइपुगे यार, यस्तै बहाना लिएर। कहिले सोच्या थिइन विदेश आउछु भनेर। तैपनि म आइपुगे। विदेश। पैसा कमाउन, भविष्य बनाउन। अहिले फुर्सदमा सोच्दैछु, मलाई अनि धेरै नेपालीलाई विदेशिन बाध्य पार्ने के हो त्यो कारण? देशको अवस्था नै मूल कारण हो त? अनि देशको यो अवस्था बनाउने को हो?

धेरै दोष त हामी नेतालाई थोपर्छौँ। यिनले देश बिगार्यो भनेर। फेरी, नेताहरुमा पनि काङ्ग्रेसले कम्युनिस्टलाई देखाउदा होलान्। कम्युनिस्टले काङ्ग्रेसलाई देखाउदा होलान्। ए, कम्युनिस्ट पनि अनगिन्ती पो छन् त हो! ऐले को हर्ताकर्ता माओबादीले काङ्ग्रेस, एमालेलाई देखाउदा होलान्। लौ यो माओबादी पनि पो कति वटा भए हो? जे होस्, कसैको दोष फेरी राजा तिर होला अनि कसैको राणातिर।

पैले बितेको समयमा देश राणाले वा राजाले कसले बिगारे त्यो त थाहा भएन, तर देशको अर्थतन्त्र रेमिट्यान्समा भर परेको थियो जस्तो चै लाग्दैन। कृषि मा आधारित देश भनेर पढेको जस्तो लाग्छ। तर अहिले भने नेपाली अर्थतन्त्र रेमिट्यान्स मै आधारित छ भन्ने पढ्न, सुन्न पाइन्छ। रेमिट्यान्स अर्थात् विदेशबाट पठा'को पैसाले देश धानेको छ रे। गज्जब!

अब अर्थतन्त्र को कुरो आएपछि capitalism (पुँजीवाद) को कुरो त आइहाल्छ। किनकि विश्वको सुपर पावर अमेरिकाले capitalism को बढावा दिन्छ। अनि त्यो सँगै Globalization अर्थात् विश्व व्यापीकरण को कुरो गर्छ। संसार नै एउटा सहर मा परिवर्तन हुदैछ भन्छ अनि यसको फाइदा को लिस्ट देखाउछ। विश्व एउटा बजार! हामी दङ्ग पर्छौ। अमेरिका ले भने पछि ठिक हो। अमेरिका को सामान एकै छिन मा नेपालमा पाइन्छ भने झन् राम्रो नि! मक्ख!!! नेपाल मा पनि KFC, PIZZA HUT!! WOW!!! (KFC काठमाडौँमा खुल्दाको भिड त पत्रिका मै छापिएको थियो नि।)

कुरो ठिकै हो। व्यापारिक आदान-प्रदान हुन्छ नि, हैन र? अमेरिका को सामान नेपालमा, नेपालको सामान अमेरिकामा। क्या मज्जा। ए ....... नेपालको सामान अमेरिकामा? के सामान पठाउने हो? लौ के बन्छ त हामी कहाँ? ढिडो र गुन्द्रुक पठाउने? .............अरे मुर्ख, त्यत्रा नेपाली छन् काम नभ'का। तिनै पठाउने नि अमेरिकामा, D.V. भर्न दिएकै छ क्यारे!

..............................

हामी आफुलाई सधैं स्वतन्त्र रहेको धाक लाउछौँ तर त्यो जमानाको कुरो गर्दै मक्ख परेर आज पेट भरिन्न। ऐले विश्व एउटा भूगोलमा बाधिएको छैन। पश्चिमी देशहरु Globalization भन्ने अस्त्रले विश्व विजय गर्दै छन्। हामी चारैतिर बाट आक्रमित छौं। सैनिक शक्तिले पराजित हुदैमा मात्र देश हार्ने होइन। आजको लडाई Globalization को हो। देश Globalization को लडाईमा हार्दै छ। अरे यार, केहि त हुनुपर्छ हतियार नेपालमा यो लड़ाई लड्न? त्यो लड़ाई लड्न न नेपालले कुनै तयारी गर्यो, न समय नै पायो। अनि त्यो विदेशी सुपर पावरको अगाडि हामी निहत्था नेपाली बाहेक को नै भए र? अनि त देश आफ्ना नागरिकलाई अरु देशमा बलि चदाउदैछ। नागरिकलाई मजदुर बनाएर देश धान्दै छ।

दोष कसको?

हामी नेपाली हौँ। हिन्दी सिनेमा हेर्छौ, हिन्दी टि.भी. हेर्छौ। अंग्रेजी गीत सुन्छौ। अंग्रेजी पढ्छौ। मैले देश मै मास्टर्स पढें, व्यवस्थापनमा। तर देशको बारेमा कमै पढें। किताब हुन्थ्यो कुनै अंग्रेजले लेखेको। कैले खै कुन देशमा प्रतिपादित थ्योरी को पढाई, कैले कुन चै देश को कम्पनी ले यस्तो गर्यो, उस्तो गर्यो। case study भनेर समेत विदेशी कम्पनी को नालीबेली! अनि त्यो पढाई नेपालमा के काम? लाग्छ, हामी विदेश मै आउन को लागि तयार भैरहेका हुन्छौं। अंग्रेजी शिक्षा, अनि अमेरिकन सपना।

त्यसैले मलाई लाग्छ, नेपालमा राजनीतिक अवस्था जस्तो भए पनि म विदेश आउनुमा दोष छ यो नयाँ परिवेशको। यो Globalization को। यो Brainwashing को। स्कुले शिक्षा, TV, पत्रिका, INTERNET,  ADVERTISING, यी सबैबाट भै'रहेको यो Brainwashing को। I am not free. I am not free to decide. This society tells me to learn English, teaches me about american corporate world, praises capitalism, worships money, brainwashes me with education and advertising, and then lets me to decide my own destiny. अनि बाटो हुन्छ त्यहि, विदेश।

........................

लौ जा, मैले त दोष लगाइदिए। के गर्ने नेपालीको दोष देखाउने बानी परेको! तपाईंको दोष चै कसलाई नि?

Saturday, January 12, 2013

यो नेपाली भिसा लगाई....


यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।
वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।

चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन।
चाहे बोलोस् निलो आकास, यो नेपाली सुन्दैन।

वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।

एकातिर नेता गण को सधैँ खिचातानी छ।
अर्कोतिर दुई छिमेकी को उत्तरोत्तर प्रगति छ।

यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।

जन्मे यहाँ गौतम बुद्ध, शान्ति का अग्रदूत।
सगरमाथा शिर झुकाउने, गृह-युद्ध गर्ने हामी सपूत।

वर्तमानलाई बन्धक बनाई सुखी future कल्पिन्छ।
यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।
यो नेपाली भिसा लगाई विदेश तिर लम्किन्छ।।