म गुगलमा क्यालेन्डर खोज्दैछु, नेपाली। आफुलाई सम्झाउन खोज्दै छु, नेपाली समय। आज नयाँ वर्ष भन्छन्। फेसबुकमा शुभकामनाहरु देख्छु। यो विदेशी धर्तीमा म मेरो नेपाली समय खोज्छु।
............
नेपालीमा ब्लग लेख्नु नि महाभारत छ आफ्नो लागि। नेपाली टाइपिङ्ग सिकिएन। यो गूगल को transliterate ले हैरान पारिसक्यो। इन्टरनेट स्लो भाको हो कि के हो, लेख्न खोजेको शब्दै देखाउन्न। पागल बनाइसक्यो। आ ... उफ ...... बल्ल खुल्यो नेपाली पात्रो पनि। लौ १ गते रैछ आज बैशाख महिनाको। .........साला .... नेपाली भएर नेपाली मै ईन्टरनेट चलाउन खोज्नु पनि गाह्रै कुरा छ। नेपालीले बनाको भए पो हुन्थ्यो त .... यी अंग्रेजले बनाको कुरो चलाउनु छ अनि के गर्ने, उसले भने अनुसार नै गर्नु पर्यो। कि त गान्धी ले जस्तो स्वदेशी मात्र चलाउने भनी कम्पुटर नै फ्याक्दिनु परो अनि चर्खा घुमाउदै बस्नु परो, हैन भने यसैलाई सलाम गर्नुपरो।
यस्तै छ जिन्दगानी मित्र .... विदेशी बसाई अनि नेपाली रटाई। के गर्नु नेपालीमा नलेखी नहुने फेरी। सानै देखि लागेको बानी। हाम्रो भाषा, हाम्रो भेष .... प्राण भन्दा प्यारो छ ....... खै भेष त कैले लगाइयो जस्तो लाग्दैन क्यारे तर भाषा चै प्यारो नै हुँदो रैछ। बच्चा देखि नै जुन भाषामा हुर्कियो, बढ्यो, पढ्यो, सोच्यो, झगडा गर्यो, सपना देख्यो, यो नेपाली भाषा लाई कहाँ भुल्न सकिन्छ र .......... अचेल फेरी के भा'को कुन्नि, नेपालकै मात्र सपना देख्छु यार। काठमाडौँ को त्यो भिड, त्यो धुलो, माइक्रो बस, अनि त्यो .... "ए .... बल्खु, किर्तिपुर ......... ए .... बल्खु किर्तिपुर ......"
तर गजब को कुरो यो छ साथी, यो नेपाली भाषा थ्योरीटिकल्लि भन्ने हो कि पोलिटिकल्ली हो मेरो मातृभाषा चै परेन रे हौ .... हैन हो गाठे, अचम्म भएन त लौ ...... म त तामांग को छोरा पो त .... (लौ यो बजिया गूगल लाई तामांग पनि राम्ररी लेख्नु आएन हौ)........ लु ठिकै छ, त कुरो के पर्यो भने मैले थाहा पाए देखि नेपाली बोल्नु, लेख्नु सिकेको .... लु हेरुँ है ....... तर टेक्निकल्ली यो भाषा चै अरु कै मातृ भाषा पो परेछ हौ ..... लु खत्तम ... अब आफ्नो मातृ भाषा तामांग (फेरी बिगार्यो हौ यो गूगले मोरो ले) सिक्न चै मो कता पो जाने हो गाठे यो बुढेसकालमा ....
हौ, अजब छ यो संसार को लीला। आबो यो मोटो दिमाग ले यस्सो सोच्दै गरेको है। ह्या विदेश भन्ने ठाउँमा जन्मेका, हुर्केका नेपालीका बच्चाहरु अंग्रेजी सिक्दा हुन्। अझ अंग्रेजी लवज मै बोल्दा हुन् ..... "हौ .... हाउ यु डू म्यान ..." भन्दा हुन्। अनि तिनि ठुलो भए पछि बाबु तिम्रो मातृ भाषा त नेपाली हो है भन्दा त फेरी .......... "शिट... म्यान ....." पो भन्लान् हौ कतै। झन् त्यसमाथि नेपाली पनि नभई तामांग (फेरी बिगार्यो .... यो गूगले लाई त...) हो भन्ने सुनाउँदा त ........ "व्हाट त फ#...... म्यान ......" भन्ने पो डर लागो त हौ ......
त्यसैले यो भाषा, यो भेष, यो माया, यो देश ......... जुन वातावरणमा जन्म्यो, हुर्क्यो, खेल्यो, बढ्यो, पढ्यो, साथी बनायो, झगडा गर्यो, माया गर्यो ......., मान्छे त्यै ठाउँ को हुन्छ यार ...... देश भनेको एउटा सीमाना मात्र कहाँ हो र ... यो त नाता हो .... यो त सम्बन्ध हो ....... यो त माया हो .... विदेशमा अंग्रेजी बोल्दै हुर्केको कुनै बेलाको नेपालीका सन्तानलाई कसरी त्यो सम्बन्धको महत्व हुन्छ र? कसरी त्यो भाषामा ऊ भिज्न सक्छ र? जसरी मैले अब तामाङ् भाषा सिके पनि त्यसमा मलाई भाषा को त्यो रस नहुन सक्छ। मलाई त्यो फुर्सद नै कहाँ हुन्छ र फेरी सिकी बस्न ...... उफ .... म बिग्रेको तामाङ् ( ह्या चै ठिक लेखे कि "तामाङ्".. यो गूगलबाट होइन अन्तै बाट कपि-पेस्ट गरेको हो है )..... आफ्नो भाषा, आफ्नो संस्कृति बिर्सेको तामाङ्। तर गर्ने के अब? जीवन त व्यक्तिगत छ, सामुहिक हुन त अचेल हामीलाई अमेरिकाले बिर्साइदिसक्यो। त्यसैले जसरी म अब तामाङ् सिकेर बस्न सक्दिन, कुनै विदेसिएको नेपालीले नेपाली भाषा च्यापेर बस्न पनि त सक्दैन होला नि।
यस्तै यस्तै भाषा, संस्कृति जोगाउने राजनीतिक अभियान अचेल नेपालमा खुब चल्दैछ । ताम्सालिङ चाहिएको छ रे। हुन त यस्ता कुरा संविधान बन्ने अन्तिम समयमा मात्र धेरै सुनिन्छ। तैपनि मान्छेमा त्यो उग्रपन त छ कतै। सहि, गलत को कुरा नै छैन, कुरा मात्र हक, अधिकारको छ। यो उग्रपनले देशलाई कहाँ पुर्याउने हो खै ?
हो, हामी धेरै तामाङ्ले आफ्नो भाषा, भेष लाई बलि दियौ। अरु जात-जातिले पनि दिए। तर जुन समय गयो, गैसक्यो। अब पछाडी होइन कसरी अगाडि बढ्ने भन्ने कुरो हो। सबै भाषा-भाषी को अधिकार पनि चाहिएको छ देशमा, तर यी अनेक भाषा-भाषी बीच एउटा एकताको सुत्र पनि चाहिएको छ।
त्यो एकता यो नयाँ वर्ष २०७० मा अझ मजबुत होस् ..... शुभकामना .......