Saturday, December 29, 2012

सबैभन्दा कम भ्रष्टाचार


न्यु जिल्यान्ड, विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देश। म यता आउन लाग्दा मेरा मित्रले सुनाउँदै थे। ओहो, धेरै राम्रो देश रैछ जस्तो छ यार । यस्तै ठाउँमा जानुपर्छ । यो भ्रस्टाचार को देश (नेपाललाई भन्न खोज्या) काम छैन। मलाई नि गजब लाग्यो। कस्तो होला त्यो देश?
.......................................

एक दिन कोठामा बस्दै थिए, अगाडी को ढोका ढ्याक ढ्याक गर्छ। को रैछ भनी हेर्न गा'को त क्रिस्चियन धर्म प्रचार गर्न हिडेका बुढा -बुढी रैछन्। लौ यता उनीहरुकै देश मा पनि के प्रचार गर्न हिडिरा होला ? मलाई कहाँ बाट आ'को, के धर्म हो सोध्दै थिए। अनि पढ्न दिए उनीहरुका कुरा। यता धेरै भ्रष्टाचार छ बाबु, प्रभु ले सब ठिक गर्छन् भन्दै थिए। आँई ....... के हो यो? भ्रस्टाचार??? "ह्या न्यु जिल्यान्डमा कम छ भन्ने पो सुनेथे त।" मैले प्रश्न गरें। "होइन बा, यता धेरै भ्रष्टाचार हुन्छ" रे लौ। के अचम्म!!!
.....................................

विकिपेडिया का अनुसार , "corruption is spiritual or moral impurity or deviation from an ideal." खतरा नै रैछ परिभाषा पनि । त्यसैले परिभाषा भन्दा पनि बरु भ्रस्टाचार को तरिका तिर जाउँ। विकिपेडियाको अनुसार नै भ्रस्टाचारका तरिकाहरुमा घुस लिने-दिने, सार्वजनिक सम्पत्तिको  निजी उपयोग, ठगी, निजी उपयोगको लागि सार्वजनिक अधिकारको दुरुपयोग गर्नु, निर्णयाधिकार को गलत उपयोग, नातावाद, कृपावाद, आदि, इत्यादि  छन्। भ्रस्टाचार विरुद्ध काम गर्ने Transparency International को web site मा पनि परिभाषा खोजेको, मैले त भेटिन। जे होस्, यो संस्था नै हो देश देश को भ्रस्टाचार को list निकाल्ने। कुन देश मा भ्रस्टाचार धेरै र थोरै भनेर वर्षै पिच्छे list छाप्ने। 2012 वर्षको लागि न्यु जिल्यान्ड एक नम्बर मा छ अनि नेपाल एक सय चवन्न मा। अफगानिस्तान, उत्तर कोरिया र सोमालिया रहेछ लास्टमा, एक चौहत्तर नम्बरमा।

नेपाल आफ्नै देश। आफ्नो देशमा कति भ्रस्टाचार भैरहेछ, कहाँ-कता भैरहेछ हामीलाई अनुभव भैहाल्छ। अनि फेरी अन्तर राष्ट्रिय संस्थाले लिस्ट निकाल्छ, ल है तिम्रो देशमा यति विधि भ्रस्टाचार हुन्छ, तिमि लिस्ट को लास्ट तिर छौ भन्छ । अनि हामीलाई लाग्छ, हो यार हाम्रो देश त गए गुज्रेकै छ। खत्तम छ। विदेश नै ठिक छ। विदेश भन्नाले गोरो मान्छेहरु बस्ने देश। गोरो मान्छेको सबै कुरा गोरो। सफा। त्यहाँ मात्र राम्रो आचरण। no भ्रस्ट आचारण । हामी यो पनि सोच्दैनौ कसरी हाम्रो देश लाई त्यो Transparency International भन्ने संस्थाले कैले तेरो यो नम्बर, कैले त्यो नम्बर भनेर लिस्ट गर्छ। उसले गर्ने भनेको Corruption Perception Index को आधारमा हो, जुन सम्बन्धित देशको तथाकथित विज्ञहरु तथा व्यापारीहरुको राय सर्वेक्षण (opinion survey) अनुसार निर्धारण गरिन्छ। यो भ्रस्टाचार नाप्ने पद्दति आफैमा विवादास्पद छ। किन यसले विकास उन्मुख राष्ट्र र कम्युनिस्ट राष्ट्रलाई जैले नि लिस्टको तल तिर पार्छ त ? धनी देशमा भ्रस्टाचार कम नै हुने हो त? कि धनी देशका विज्ञहरु सरकार नजिक हुने हुन्, जसले आफैले गरेको भ्रस्टाचार नदेख्ने पो हुन् कि? आखिर opinion न हो।

नेपालमा भ्रस्टाचार नभएको होइन। एकदम छ। तर नेपालको तुलना न्यु जिल्यान्ड सँग कसरी गर्न सकिन्छ। सबभन्दा कम भ्रस्टाचार, एक नम्बरमा न्यु जिल्यान्ड संगै डेनमार्क र फिनल्याण्ड छन्। यी तीन देशमै नेपाल को तुलनामा कति थोरै मान्छे बस्छन्, तर नेपाल हेरि कति धेरै resources छ । मान्छे नै छैनन् भने कसले गर्ने भ्रस्टाचार? अनि सबैलाई पुगिसरी छ भने फेरी किन भ्रस्ट आचरण? यो हल्का सोच्ने तरिका भो। तर कुरो चै के भने भ्रस्टाचार को अनेक रुप हुन्छ। नेपालमा सरकारी कार्यालयमा घूस लिने-दिने व्यापक देखिएकोले सबैले भ्रस्टाचार देख्छन्। तर यता विदेश तिर चै अलि लुकिएको भ्रस्टाचार हुन्छ। ठूला-बडा भ्रस्टाचार हुन्छन्। हुन त नेपालमा नि ठूला-बडा भ्रस्टाचार नहुने त होइन। तैपनि यताको ठूला-बडा भ्रस्टाचारले त पूरै विश्व नै प्रभावित हुन्छ। खास गरी अमेरिका (U.S.A.) को। अमेरिका को economic  recession ले सबै देशलाई असर गरेको त देखिएकै हो। अनि अमेरिका को त्यो economic recession को पछाडी व्यापारिक घरानाहरुको भ्रस्टाचार थियो भनेर पछि खुलासा भएकै कुरा हो। तिनै व्यापारी हरु हुन् अमेरिकी राजनीतिक पार्टीहरुलाई चन्दा दिने। अनि आफ्नो अनुकूल सरकारी नीति ल्याउन त्यहाँ भ्रस्टाचार भएन होला कसरी नभन्ने ।

यस्तै खालको भ्रस्टाचार को कुरा गर्छन् यता न्यु जिल्यान्ड तिर पनि। अचेल निजीकरण को कुरो छ यता। त्यसैले निजीकरणको नाममा सरकार निकट व्यापारी को भागमा सरकारी सम्पति कतै सुम्पिने त होइन? भ्रस्टाचार को अर्को तरिका। यसैको विरोध हुदैछ। यसका अलावा नातावाद, कृपावाद संसारको जुनसुकै कुनामा पनि हुन्छ। मान्छे न हुन् यार, आफ्नो त जसको नि राम्रो भै हाल्छ नि।

यस्तै हो साथी, देश अनुसारको भेष। देश अनुसारको भ्रस्टाचार। 

Thursday, December 20, 2012

मेरो प्रौढ-शिक्षा


म सान-सानै हुँदा खेरी प्रौढ शिक्षा भनेर खुब प्रचार हुन्थ्यो। बुढा -बूढी लाई अक्षर चिनाउन भनेर रेडियो, टि.भी. मा बिज्ञापन पनि बज्थ्यो। पढ्यो भने अरुले ठग्न सक्दैन यस्तै यस्तै। किताब पनि चित्रै चित्रले सजेको रमाइलो हुन्थ्यो। comics जस्तो। त्यसैले बुढा-बुढीका लागि छापिएका ती किताब म पनि रमाई रमाई पढ्थे। अचेल आफै बुढो भइयो। मास्टर्स सकेर पाँच वर्ष पछि विदेश आउने बहानामा फेरी पढ्ने मौका जुर्यो।

अस्ति online मा साथि सँग च्याट हान्दै थे। केटाहरु विदेशमा पढ्दै, भिषा थप्दै बस्ने गर्छन्, आदि, इत्यादि कुरा भयो। अनि केटाहरु पढाई जति जम्मै गरि सक्छन् रे, बुढो हुँदा पढ़ी बस्छन् रे भन्ने कुराकानी भो। यस्तालाई साथीहरु प्रौढ शिक्षा गर्ने पो भन्दा रैछन्। साथीले सुनाउदै थे।

हुन पनि विदेश बस्नै परो। भिषा थप्नै परो। अनि अनेक अनेक विषय पढ़ी सक्छन्। साइन्स पढेका कमर्स गर्छन्। कमर्स गरेका कुक पढ्छन् । यस्तै रै'छ अचेल को प्रौढ शिक्षा।

यस्तै प्रकारले म पनि आईपुगे प्रौढ शिक्षा गर्न विदेश तिर। पढिसकेको एकाउन्ट फेरी पढ्न। एकाउन्टमा खासै दक्खल नभए नि कमर्समा मास्टर्स गर्दा पढ़िसकेकै विषय हो। विदेशमा फेरी त्यै विषय दोहोर्याउने मात्र त हो। तैपनि विदेशी पढाई, अलि धमाका त होला। केहि ज्ञान गुन बढ्ला। एकातिर यस्तो पोजिटिभ कुरा थ्यो। अर्का तिर, यो प्रौढ शिक्षा गर्दा कतै म एक्लै त प्रौढ हुने हो कि साना बालखहरुको माझमा, टेन्सन थियो। तैपनि अब आइहालियो, पढ्नै पर्यो। क्लासमा पसेको त म आफै पो बालक रैछु जस्तो भो। बा-आमा जस्ता नि थिए यार  कोहि त । ओहो, हाई -सन्चो भो। विदेशमा खासै मतलब नहुने रैछ। को बच्चा, को बुढा। सब बराबर। पढाउने गुरुलाई त "Hi John" रे, आफ्नै साथीलाई झैँ। अझ, मलाई नयाँ देखेर गुरु आफैं "Hi, I am John" भन्दै हात मिलाउन पो आउछन् यार। रमाइलो रैछ।

पढाई चै ठिकै हो। त्यस्तो बबालै भएन। तर गुरु एकदम सहयोगी। पढाउने तरिका चै कम्प्युटर खोलेर सेतो बोर्डमा Presentation दे'को दै। दिनमै एउटा chapter सक्ने। अब अचेल नेपालमै पनि कम्प्युटर हेर्ने, अनि के जाति laptop लिने, Presentation दिने चलन आयो कि क्या हो, तर आफु त अलि बुढा-खाडा परियो, यति विधि देख्नलाई विदेशै आउनु प'रो। Anyway, देश अनुसारको भेष त गर्ने परिगो। पढ़ियो विदेशी शिक्षा। तर आफुले त पैले नेपालमै राम्रै सँग पढेको थे क्यारे , यस्सो revision गरियो भन्नु पर्यो । गुरुले नि सोध्धै थ्यो, "Have  u  done accounting before?" रे , अलिअलि भनी गफ लाइदिए। जाँचमा त एउटो विषयमा क्लास टप नै पो गरिएछ ए गाठें! क्याम्पस बाट फोन पो गर्छ, प्राइज लिन आइजो रे। "Thank you" भन्दै म पनि पुगे प्राइज दिने-लिने कार्यक्रममा। विदेशी प्राइज कार्यक्रम रमाइलो गर्दा रैछन्, जोक हान्ने, अनि हास्ने। आधा बुझियो, आधा तेस्सै हाँसियो। अनि प्राइज लिने टाइम पनि आयो, लिइयो। के दिएछन् भनि यस्सो हेरेको त, "This is to certify that you have topped the subject" भनेर एउटा चिठी मात्र पो रैछ यार .........। खिस्स!

यस्तै छ मेरो विदेशी प्रौढ शिक्षा। केहि नयाँ जान्ने, सिक्ने अवसर चै भैराछ। जीवनमा पढाई भन्ने कुरा कैले सकिन्न। अनि त्यो कक्षा-कोठामा मात्र सीमित पनि हुन्न र, उमेरले पनि छेक्दैन। सिक्न खोज्नु पर्छ।

Wednesday, December 19, 2012

न्युजिल्यान्डमा निजीकरणको विरोध




नेलसन को गल्ली तिर हिड्दै गर्दा यस्तो बोर्ड देखि रहन्छु। "STOP KEY SELLING OUR ASSETS" भन्छ। अनि signature पनि गर् भन्छ। कसको सम्पत्ति कसले बेच्न लागेछ? के रैछ भनि बुझ्दा त सरकारको निजीकरण कार्यक्रमको विरोध पो रैछ।

ए, भनेपछि निजीकरण को विरोध गर्ने भनेको नेपालमा झैँ कम्युनिस्ट मात्र होइन रै'छन्, यता तिर नि हुँदा रैछन् ए गाँठे!

STOP, KEY SELLING OUR ASSETS भनेर न्युजिल्यान्डका प्रधानमन्त्री John Key लाई भनेका रैछन्। सरकारी सम्पत्ति निजीकरण गर्न लाग्यो भनेर अरु पार्टीहरुले बिरोध गरिराका  रै'छन्। कमर्सका विद्यार्थी अनि अमेरिकामा पढ़ी Merrill Lynch जस्तो Investment management कम्पनीमा काम गरेका Key लागेछन् निजीकरण तिर। राम्रै चलेको बिद्युत कम्पनी र सरकारी हवाई-सेवा को बिक्री गर्न। मलाई चै नेपालमा गएगुज्रेको अवस्थामा रहेको नेपाल बिद्युत प्राधिकरण र सरकारी हवाई-सेवा, NAC को पो सम्झना भो। नेपालमा यी कम्पनीको निजीकरणको कुरा अनि त्यो सँगै आउने विरोधको कुरा के कता पुग्यो कुन्नि ?