Wednesday, September 26, 2012

first impression


भन्थे, एक चोटी विदेश जानु पर्छ। संसार हेर्नुपर्छ। अझ, स्वर्ग के हो देखिन्छ रे पनि भन्या सुनेथे।

प्लेनको लामो यात्रा, अनि थकान। नेपाल बाट singapore , auckland हुदै nelson  आइपुग्दा ज्यान पुरा थकित थियो। निद्राले झ्याप। प्लेनमा सुत्न सक्या' थिन। न केही खाएको थियो। खाना मिलेन, समय मिलेन, न प्लेनको सिट मिल्यो, निद्रै आएन। एकै दिनमै आइपुगेको हो कि जस्तो भो। बिहान घर बाट हिंडेको, साँझ मा आइपुगे जस्तो भो।

जे होस्, यसरी आइपुगियो नेलसन, destination . चिसो सिरेटो ले स्वागत गर्यो । अनि लगभग अध्यारो। नेलसन को समय तेस्तै 4-5 बज्दो हो। तर जाडो मौसममा छिटै रात लाग्ने रहेछ। बस्ने ठाउँको बन्दोबस्त यता नेपाली साथीले नै मिलाइसकेका थिए। कोठामा आइ पुग्दा त अध्यारै भो। अँध्यारो मा डाँडा -काँडा देखियो। डाँडा-डाँडामा बत्ति बलेको । चिसो-चिसो हावा। मलाई त कता कता किर्तिपुर आइपुगे झैं पो भो । चितवन बाट किर्तिपुर पहिलो पटक पुग्दा पनि यस्तै त भाको थियो। जाडो मौसममा पुगेको त्यो बेला लास्ट.. चिसो भाको थियो! जाडोले मेरो घाँटी समातेको'थ्यो। पछि बस्दै गर्दा काठमाडौँ चिसो लाग्न छो'डो।

जेहोस् , रातको अध्यारो मा मलाई न्युजिल्यान्ड को नेलसन सहर नेपालकै किर्तिपुर भो। घर छोडी पढ्न हिंडेको सम्झना भो।

भोलिपल्ट कलेज चाडैं पुग्नुपर्ने थ्यो। बिहानको 9 बजे। त्यसैले खाइवरी सुत्यौं। ओहो, बिहान आखाँ खुल्दा त 9 त बिस्तारामै पो बजेछ। हतार-हतार उठेर हिड्यौं कलेज तिर। अब चै देखियो, नेलसन सहर, बिहान को उज्यालो मा। .......लौ, किन सुनसान ? बाटो-घाटो चै राम्रै रैछ। केहि गाडीहरु पनि गुडि'रा। सफा। तर काठमाडौँ को झ्याउँ-झ्याउँ, भिड-भाँड बाट आको। एक्कासि सुनसान पो भो। सहर रे। मान्छे नै छैनन् जस्तो । हिजो साथीले बताए अनुसार नै हिडेको झैँ लाग्छ, तर खै भेटिएन कलेज। मान्छे लाई सोधुँ भनेको कतै कोई देखिन्नन्। तै हिड्दै गर्दा कस्सो भेटिए 2-3 जना। अनि बल्ल बाटो पत्ता लगाएर पुगियो कलेज ।

लाग्यो, कस्तो ठाउँ मा आइएछ नि, मान्छे नै नहुने। सबै कुरा चट्ट मिलाएर राखेको, डाँडा माथिसम्म पनि पिच रोड। सफा-सुघ्घर। साना-साना चिटिक्क का घरहरु। तर मान्छे नै कम। सुनसान । जाडो मौसम मा यस्तै हुन्छ, मान्छे कम हुन्छ भन्छन्। हेरौं।

यस्तै भो first impression, न्यु जिल्यान्ड अनि नेलसन को। खै विदेश भन्नु स्वर्ग भो वा नेपालकै अनुभूति भो, भन्नै कठिन भो। तर पनि लागिरह्यो, सफा, धुलो भन्ने नभा'को, अनि अलि सानो-सानो घर भाको नेपालकै कुनै गाउँ झैँ भो।

Monday, September 24, 2012

भाषा

सोचेथें अंग्रेजीमा लेख्छु। अहँ, कुरा नै फुरेन। मजै आएन। के भा'येस्तो? यहि रैछ सायद आफ्नो भाषा भनेको। mother-tongue भन्छन् नि अंग्रेजीमा। जुन भाषा मा खेल्दै उफ्रिदै जीवन यती उकालो लाग्यो , त्यै भाषामै मजा आउने रैछ । आफ्नोपन हुने रैछ । मनको कुरा पोखिने रैछ । पछी सिकेको भाषा मा खै के हो के, बोल्न खोजेको कुरा नै अर्कै बोलिए जस्तो, अर्कै लेखिए जस्तो, कतै केहि बाँकी रहे जस्तो, धित नै नमेटिए जस्तो। के हो के?

सानै देखि सिकेकै हो अंग्रेजी। लेखेकै हो। बोले जस्तो गरेकै हो। आज येस्सो लेखुँ  भन्छु खै के भाको? अझ यो बिरानो ठाउँमा झन् अंग्रेजी बोल्नु नै छ। लेख्नु नै छ। अनुभूति साट्नु नै छ। के गर्ने? नेपाल छोडी यो बिदेशाँ आउँदा यो अंग्रेजीको महिमा गजबको हुन्छ। बोल्नै पर्ने बाध्यता हुन्छ ।  सुन्नै पर्ने हुन्छ ।

त्यसो त , विदेश आउन भनि नेपालबाट जब प्लेनमा चडियो, सिंगापुर एयरमा, त्यै बेला देखि सुरु भयो लौ अंग्रेजीको यात्रा। ओहो ....... कुन खाले अंग्रेजी बोले तिनले? ति बिमान परिचारिकाहरुले ? Singlish पो भन्दा रैछन त गाठे । पछि थाहा भो नि । सिंगापुर को english रे singlish । थाहा पाइयो अनि ठाउँ अनुसारको इंग्लिश। कतै येस्सो हाम्रा छिमेकी भारत का बन्धुहरु भेटिदाँ मात्र  अंग्रेजी बुजियो है। लाग्यो आहा, मैले अंग्रेजी बुझ्दो र'छु।

अब, अरु त के कुरो गरौँ र खै, anyhow, आइपुगियो  नयाँ ठाउँ। अंग्रेजको गाउँ। नेलसन, नु जीलंड भन्छन् यसको नाउँ। अनि भाषा चैं किविन्ग्लिश भन्दा होलान् । अरे यार, यता त झनै बुझ्नै गारो भो नि । कति छिटो बोलेको लौ .......। अघि बोलेको अर्थ लगाउन भ्याछैन, अरु दिन थालिसक्छ्न् तिनका अंग्रेजी ...... IELTS मा त राम्रै गरे जस्तो लागेथ्यो। अझ listening मा त झन् राम्रो गरे झैँ मान्थे। लु, होइन रैछ, मलाई IELTS गराउने UK भन्ने ठाउँ का अंग्रेजहरुले ठगे छन्। जात्रै भो नि । मैले बोलेको अंग्रेजी उसले नबुज्ने , उसले बोल्या मैले say again plz भन्नु पर्ने। अंग्रेजी त दुबैले बोलेको, तर एस्तो भो। यो अंग्रेजी भाषा को महिमा ....।

लुज्जा त, म येस्तो अंग्रेजी किन लेखि बसुँ हो ? म मेरै नेपाली लेख्छु, eh sorry , मेरो नेपाँग्रेजी भन्न खोजेको।  अब अंग्रेज को ठाउँ मा अलिकति अंग्रेजी त बोल्ने परो नि बीच-बीचमा। अनि, मेरो नेपाली भाषा पनि त समय अनुसार, ठाउँ अनुसार अलि फरक हुने नै भयो नि ।

ल ठिकै छ, अब अंग्रेजको गाउँमा बसेर नेपाँग्रेजी मा ब्लग लेखिन्छ। नेपाल देखि नेलसन सम्म। लु, स्टार्ट।